काठमाडौँ । पेट्रोलियम ढुवानी व्यवसायीले कानुनविपरीत इन्धनको आपूर्तिमा अवरोध गरेका छन् । व्यवसायीले अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ विपरीत पेट्रोलियम पदार्थको खरिद आदेश ९पीडीओ० लिएका छैनन् ।
पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले ढुवानी भाडा प्रतिवेदन कार्यान्वयन गर्ने माग राखी गत शुुक्रबारदेखि इन्धनको पीडीओ उठाएका छैनन् । अत्यावश्यक सेवा ऐनमा अत्यावश्यक वस्तुको रूपमा रहेको पेट्रोलियम पदार्थको खरिद, ढुवानी, बिक्री वितरण रोक लगाई बन्द हड्ताल गर्न नपाइने व्यवस्था छ । तर व्यवसायीले नियमन उलङ्घन गरेर इन्धन आपूर्तिमा अवरोध गरेका हुन् । पीडीओ नउठाउँदा बजारमा हवाई इन्धनदेखि पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ ।
राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले अत्यावश्यक वस्तु तथा सेवामा कानुनविपरीत गएर व्यवसायीले जानाजान गैरकानुनी ढङ्गले पीडीओ खरिद नगरेको बताए । यातायात व्यवस्था विभागले सवारी भाडा दरमा स्वचालित मूल्य प्रणाली लागू गरिसकेको छ, व्यवसायीको दादागिरीले इन्धनको ढुवानी, आपूर्तिमा अवरोध गर्न उपभोक्ता हितविपरीत भएको महर्जनले बताए ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले मङ्गलबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, व्यवसायीसहित समस्या समाधान गर्न वार्तामा बसेको तर कुरा नमिलेको बताए । यस विषयमा थप छलफल हुने बताउँदै उनले व्यवसायीसँग फेरि छलफल गरेर समस्याको समाधान गरिने दाबी गरे ।
निगमका वितरण विभाग प्रमुुख वीरेन्द्र गोइतले मुलुकभर ५५ हजार किलोलिटर इन्धन मौज्दात रहेकाले यसले एक साताको बजार माग धान्ने जानकारी दिए । व्यवसायीले गत शुक्रबारदेखि पीडीओ उठाएका छैनन्, व्यवसायीको मागअनुसार ढुवानी भाडादर वृद्धिको प्रस्ताव निगम व्यवस्थापनले सञ्चालक समितिमा पेस गरिसकेको उनले जानकारी दिए । निगमका अनुसार हवाई इन्धनको अभाव देखिन थालेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS