वीरगञ्ज । सरकारले वीरगञ्ज नाकामा डस्टी कार्गोको उचित व्यवस्थापन नगर्दा विगत ५ वर्षदेखि आयातकर्ताले अनेक समस्या झेल्दै आएका छन् । भारतीय भन्सारले सूचना निकालेर यही असोज ३० देखि रक्सौल–वीरगञ्ज नाकाबाट हुने सबै आयातनिर्यात एकीकृत जाँच चौकी ९आईसीपी०बाट मात्रै हुने बताएपछि आयातकर्ता फेरि अप्ठ्यारोमा परेका हुन् ।
भारतीय भन्सारको पटना कार्यालयले निकालेको सूचनामा अब रक्सौल भन्सारबाट आयातनिर्यात नहुने उल्लेख छ । यो नाकाको सम्पूर्ण आयातनिर्यातलाई आईसीपीमा सार्न सूचना निकालिएको हो ।
भारतीय भन्सारले असोज २१ मा निकालेको सार्वजनिक सूचनामा यही बुधवारदेखि रक्सौल भन्सारका लागि सिपिङ बिल, बिल अफ इन्ट्रीलगायत कागजात नबनाउन भनिएको छ । आईसीपी पूर्ण सञ्चालनमा आइसकेको भन्दै वीरगञ्ज–रक्सौल नाकाको सम्पूर्ण आयातनिर्यात आईसीपीबाटै गर्न भारतीय भन्सारले सूचना निकालेको हो । यता नेपालतर्फ डस्टी कार्गो व्यवस्थापनको उपयुक्त स्थान तयार नभएकाले आयातकर्ता समस्यामा पर्ने अवस्था आएको छ । यसअघि कहिले भारतको रक्सौलका स्थानीय बासिन्दा त कहिले भारतीय निकायको कदमबाट आयातकर्ता आजित हुँदै आएका थिए ।
पाँच वर्षअघि रक्सौलका स्थानीयको अवरोधका कारण त्यहाँ क्लिंकर लोड–अनलोड बन्द भएको थियो । त्यसबेला स्वदेशी भू–भागमै डस्टी कार्गो व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका तत्कालीन सहसचिव रविशंकर सैंजू नेतृत्वको टोलीले वीरगञ्जका ३ स्थानमा यस्तो कार्गो व्यवस्थापन गर्न सकिने सुझाएको थियो ।
त्यसयता भारतीय भन्सारले पटकपटक डस्टी कार्गो त्यहाँबाट हटाउन अल्टिमेटम दिइसकेको छ । ‘प्रत्येकपटक सूचना निस्किएपछि आयातकर्ता सरकारदेखि भारतीय निकाय गुहार्न पुग्ने गरेका छन्,’ वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले भने, ‘तर, सरकारले अहिलेसम्म यसको विकल्प दिन सकेन ।’ भारतीय निकायले सूचना निकाल्ने र आयातकर्ताको हारगुहारले केही समय थामथुमको सिलसिला चलिरहेको छ । भारतीय भन्सारको यो सूचनाले डस्टी कार्गो ढुवानीको विषय फेरि अन्योलग्रस्त बनेको छ । सूचनाले आयातकर्तालाई तनाव थपेको राजपालले बताएकाे आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS