काठमाडौँ । गण्डकी, बागमती प्रदेश, सशस्त्र र प्रहरी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा सञ्चालित प्रतियोगिताको सोमबार भएको क्वार्टर फाइनल खेलबाट नेपाली सेनाको त्रिभुवन आर्मी, सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १ बाहिरिएका छन् ।
मधेस र कर्णाली प्रदेश लिग चरणको खेलबाट बाहिरिएका थिए । पुलिसले सेनालाई दुईका विरुद्ध तीन, सशस्त्रले लुम्बिनी, बागमतीले सुदूरपश्चिम र गण्डकीले प्रदेश १ लाई सोझो तीन सेटमा पराजित गर्दै सेमिफाइनल पुगेका जिल्ला भलिबल सङ्घ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले जानकारी दिए ।
प्रहरी र सेनाको खेल प्रतिस्पर्धात्मक बनेको थियो । पहिलो र दोस्रो सेट जितेको पुलिसलाई तेस्रो र चौथो सेटमा पछि पारेको सेना अन्तिम सेटमा पराजित हुँदा सेमिफाइनल पुग्न सेकेन । पुलिसले सेनालाई पहिलो सेटमा २५–१३, दोस्रो सेट २५–२० र तेस्रो सेट १५–१३ अन्तरले पराजित गरेको हो । सेनाले पुलिसलाई तेस्रो सेट २५–२३ र २५–१४ अन्तरमा पराजित गरेको थियो ।
सशस्त्रले लुम्बिनीका विरुद्ध २५–१९, २५–१८ र २५–१० को अन्तरमा जीत निकालेको हो । सुदूरपश्चिम प्रदेश बागमतीसँग २५–१२, २५–१५, २५–२३ अन्तरमा पराजित भयो । गण्डकीले प्रदेश १ लाई २५–१०, २५–१०, २५–१७ को अन्तरमा पराजित गरेको हो ।
मङ्गलबार सेमिफाइनलमा सशस्त्र प्रहरी र बागमती प्रदेश तथा नेपाल पुलिस र गण्डकी प्रदेशबिच प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिए । क्वार्टर फाइनलको खेलमा सशस्त्रकी आरती सुवेदी, सुदरपश्चिमकी प्रगति नाथ, नेपाल पुलिसकी कमला पुन र प्रदेश १ की पूर्णिमा राईलाई विमेन अफ द म्याच घोषणा गरिएको थियो ।
लिक कम नकआउट बेस्ट अफ फाइभ सिस्टममा खेलाइएको खेलमा सात प्रदेश र तीन विभागीय टोली सहभागी छन् । प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
FACEBOOK COMMENTS