काठमाडाैं । ब्रोकर नम्बर ५८ अर्थात् नासा सेक्यूरिटीज कम्पनीले नेपालमै पहिलोपटक लगानिकर्ताले शेयर ब्रोकर बाटै कर्जा लिएर शेयर खरिद गर्नसक्ने मार्जिन ट्रेडिङ कारोवार सुविधा प्रदान गर्न शुरु गरेको छ । नेपाल स्टक एक्सचेञ्जले २०७५ सालमा मार्जिन कारोबार सुविधा सम्बन्धि कार्यविधि, २०७५ जारी गरेपछि लगानिकर्तालाई औपचारिक रुपमा यस्तो सुविधा प्रदान गर्ने नासा सेक्यूरिटिज पहिलो ब्रोकर कम्पनी हो ।
नासा सेक्यूरिटिजले नियमनकारी निकायहरुको मार्गनिर्देशन र मार्जिन कारोबार सुविधा सम्बन्धि कार्यविधि, २०७५ वमोजिम लगानिकर्ताहरुका लागि २ प्रकारका योजनाहरु ल्याएको जनाएको छ । कम्पनीका अनुसार पहिलो योजना अन्तरगत रु १० लाख सम्मको पोर्टफोलियोमा काम गर्ने ग्राहकले ४० प्रतिशत मात्र नगद मार्जिन राखी कारोवार शुरु गर्न सक्नेछन् । सो योजना ३० दिने अवधिका लागि उपलब्ध गराइने छ र यसमा सेवा शुल्क र व्याज सहित जम्मा शुल्क रु। ९,९९९ मात्र लाग्नेछ ।
दोस्रो योजना रु १० लाख सम्मको पोर्टफोलियोमा ५८ दिने अवधिका लागि हुनेछ र यसमा सेवा शुल्क र व्याज सहित जम्मा शुल्क रु २१,०५८ मात्र लाग्नेछ । यी सुबिधा उपभोग गर्न चाहने ग्राहकले नेप्सेवाट जारी मार्जिन कारोवार गर्न योग्य कम्पनीको सूचीभित्र रहि कारोवार गर्नुपर्नेछ । कम्पनीले दुवै योजना ग्राहकहरुले आवेदन दिएको ५८ मिनेट भित्रमा स्वीकृत गर्ने जनाएको छ ।
कम्पनीले भनेको छ ‘यस कम्पनीसँग हाल उपलब्ध स्रोत धेरै भन्दा धेरै लगानीकर्ताहरुलाई सेवा प्रदान गर्ने उद्धेश्यबाट परिचालन गरिएको छ । भविष्यमा धेरै स्रोतको जोहो गरि छिटो छरितो, गुणस्तरिय र भरपर्दो सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध छ । हाम्रा योजनाहरुमा सहभागिता जनाई नयाँ सुविधाको लाभ उठाउन र सेवामा गुणात्मक सुधारका लागि रचनात्मक राय सुझाव दिन ग्राहकहरुलाई हार्दिक अपिल गर्दछौ ।’
कम्पनीमा मार्जिन कारोवार सुविधा लिई कारोबार गर्नका लागि कम्पनीको वेबसाइटमा गई आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
FACEBOOK COMMENTS