विराटनगर । कोभिड-१९ का कारण ३ वर्षदेखि सुस्ताएको तयारी छाला निकासी अहिले रूस–युक्रेन तनावको शिकार भएको छ । विराटनगरबाट आर्थिक वर्ष २०७८/८९ मा छाला निकासी अघिल्लो वर्षको तुलनामा बढेको देखिए पनि कोभिडपूर्वको स्थितिभन्दा निकै तल रहेको छ ।
विराटनगर भन्सार कार्यालयका अनुसार कोभिडपछि तुलनात्मक रूपमा छाला निकासीमा सुधार आए पनि आव २०७४/७५ को भन्दा कम छ । उक्त आवमा ३७ करोड ६१ लाख मूल्यको ५१ लाख ३८ हजार वर्गफिट छाला निकासी भएको तथ्यांक छ । नेपालबाट भारत, चीन, इटाली, मेक्सिको, फ्रान्स, टर्की, ल्याटिन अमेरिकालगायत देशमा प्रशोधित छाला निकासी गरिन्छ ।
भन्सार कार्यालयका प्रवक्ता रामचन्द्र ढुंगानाका अनुसार कोभिडपछि छाला निकासी बढेको छ । आव २०७८/८९ मा राँगाभैंसी, बोकाबाख्रा, भेडालगायत चौपायाको प्रशोधित छाला २० करोड ४१ लाख रुपैयाँ बराबरको निकासी भएको छ । उक्त वर्ष १७ लाख ५७ हजार ५७६ किलो छाला निकासी भएको हो । आव २०७७/७८ मा १० करोड ५९ लाख रुपैयाँ बराबरको ८ लाख २१ हजार किलोभन्दा केही बढी छाला निकासी भएको थियो ।
कोरोनाको बेला छाला उद्योग बन्द भएका थिए । कोरोना कमजोर भएपछि यूरोपलगायत मुलुकबाट अपेक्षाअनुसार माग नआएको युनाइटेड टेनेरिजका सञ्चालक परवेज अख्तरले बताए । उनका अनुसार रूस–युक्रेन तनावका कारण इटाली र चीनबाट आउने माग शून्य भएको छ । युद्धका कारण ७० प्रतिशत निकासी प्रभावित भएको उनले बताए ।
सरकारले निकासी हुने वस्तुको सूचीमा राखेर ५ प्रतिशत नगद अनुदान दिँदै आएको छाला उद्योगका लागि सुहलियतपूर्ण कर्जा सुविधा नहुँदा उत्पादन खुम्चँदै गएको अख्तरले बताए । विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रूपमा छाला उद्योगलाई प्रोत्साहन गर्नुपर्नेमा सरकारले नगद अनुदानसमेत ढिला दिइरहेको गुनासो उद्योगीको रहेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS