धनगढी । देशमा चुनाव हुन नौ दिन मात्र बाँकी छ । चुनावी रन्को क्रमशः बढ्दै पनि छ तर केही मतदातालाई भने त्यसले छोएको छैन । यस्तो अवस्था अहिलेको मात्र नभई यसअघिका निर्वाचनदेखिकै हो ।
निर्वाचनले नछुनेमध्ये एक हुनुहुन्छ कैलालीको लम्कीचुँहा नगरपालिका–६, प्रतापपुरका रामसिंह भुल । हाल ६५ वर्षका उहाँले पञ्चायतकालपछि बहुदलकालमा मतदान गर्न पाउनुभएको छैन । भोट हाल्ने रहर हुँदा पनि भारतमा काम गरिरहेकाले उहाँले भोट हाल्ने अवसर नपाउनुभएको हो ।
“म भारतमा काम गर्न थालेकै ४० वर्ष हुन थाल्यो । यस पटक आमा बितेकाले आएको थिएँ । काजकिरिया सकेर फर्किन थालेको छु ।” गौरीफन्टा नाकामा भेटिनुभएका विकले भन्नुभयो । काम गर्ने ठाउँमा छुट्टी नमिलेको र मतदाता सूचीमा नामै नभएका कारण उहाँ भारतको मुम्बईबाट केही टाढा रहेको राजकोटमा फर्कनुभएको हो । कैलालीकै भजनी नगरपालिका–४ का नरेन्द्र बुढा पनि भारत जाँदै हुनुहुन्छ । विगतमा कालापहाड जाने गर्नुभएका बुढा यस पटक श्रीमती ललितासहित मुम्बई जाँदै हुनुहुन्छ । स्थानीय चुनावमा मतदान गरेको बताउने ललिताले जसले जिते पनि जनताका काम केही नहुने भन्दै आफूसमेत श्रीमान्सित भारत जान लागेको बताउनुभयो ।
रामसिंह र नरेन्द्र दम्पती मात्र होइन गौरीफन्टा नाकाबाट दैनिक एक हजार २०० भन्दा बढी नेपाली भारतका विभिन्न सहरमा कामको खोजीमा गइरहेका छन् । भारत जानेमा खेतीपाती गरेर, दशैँ, तिहार मनाउन आएकाहरू र मतदानमा रुचि नभएकाहरू धेरै छन् । सुदूरपश्चिम क्षेत्रबाट हरेक वर्ष हिउँदे खेती गरेर कामको खोजीका लागि भारत जाने प्रचलन छ ।
सीमा क्षेत्रमा रहेको सशस्त्र प्रहरी डेस्कमा कार्यरत सहायक निरीक्षक मीनबहादुर ऐरका अनुसार भारतबाट आउनेको तुलनामा भारत जानेको सङ्ख्या निकै बढिरहेको बताउनुहुन्छ । भारत जाने एक हजार हुँदा आउनेको सङ्ख्या चार सयसम्म रहने गरेको उहाँले बताउनुभयो । दशैँ सकिएपछि भारत जानेको सङ्ख्या बढिरहेको प्रहरीको तथ्याङ्क छ ।
बैतडीको झुलाघाटबाट पनि भारत जानेको सङ्ख्या बढ्दै गएको छ । गाउँमा कुनै रोजगारी नहुँदा परिवार पाल्ने चिन्ताले बैतडीका ग्रामीण क्षेत्रबाट कात्तिक १ गतेदेखि २२ गतेसम्म झुलाघाट नाका भएर ५३३ पुरुष र १२१ महिला गरेर ६५४ जना रोजगारीका लागि भारत गएका छन् ।
भारतसँग सीमा जोडिएको झुलाघाट नाका भएर कात्तिक महिनामा मात्रै ६५४ जना सर्वसाधारण नेपाली भारत गएको झुलाघाटस्थित प्रहरी चौकीको तथ्याङ्क छ । चौकी इन्चार्ज योगेशबहादुर पालका अनुसार तिहारका बेला झुलाघाट नाका भएर २८० जना महिला र एक हजार पुरुष स्वदेश फर्किएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS