काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका काँग्रेसका प्रदीप पौडेल मतदाताहरुसँग भोट माग्न अर्कै निर्वाचन क्षेत्रमा पुगेका छन् । तनहुँबाट काठमाडौंमा आएर चुनाव लडेका पौडेलका लागि काठमाडौं क्षेत्र नम्बर ५ नयाँ निर्वाचन क्षेत्र हो । सोहीकारण उनले आफ्नो निर्वाचन क्षेत्रको सीमा बिर्सेर काठमाडौं क्षेत्र नम्बर ४ को कालोपुलमा भोट माग्न पुगेका हुन् ।
काठमाडौं क्षेत्र नम्बर ५ को हाँडीगाउँको सिमानामा रहेको काठमाडौं क्षेत्र नम्बर ४ को कालोपुल क्षेत्रमा बुधबार साँझ भोट माग्न पुगेपछि स्थानीय बासिन्दा समेत अचम्मित भएका थिए । पौडेलको साथमा स्थानीय काँग्रेस कार्यकर्ता भन्दा पनि अन्य भूगोलका कृष्ण सिटौला निकट नेविसंघका विद्यार्थीहरु मात्रै हुने गरेका छन् । त्यसैले पनि उनलाई आफ्नो निर्वाचन क्षेत्र चिन्न अप्ठेरो परेको बताइएको छ ।
काठमाडौं क्षेत्र नम्बर ५ का पुराना काँग्रेसी नेताहरुले पौडेललाई खासै रुचाएका छैन् । उनले सोचे जस्तो साथ पनि पाएका छैनन् । टुरिष्ट नेताहरुलाई मात्र भोट हाल्न परेको भन्दै काठमाडौं क्षेत्र नम्बर ५ का स्थानीय नेता कार्यकर्ताहरुले पौडेललाई असहयोग गरेका छन् । काँग्रेसले साथ नदिएपछि पौडेलले एकीकृत समाजवादीका विवादित दीपक केसीलाई लिएर हिँड्ने गरेका छन् । एमालेबाट तेस्रो पटकका लागि वडा अध्यक्षको टिकट नपाएपछि एकीकृत समाजवादी बनेका केसीले गत स्थानीय निर्वाचनमा सर्वनाक हार व्यहोरेका थिए । एमालेको बलियो संगठन रहेको काठमाडौं ५ मा भूगोल नचिनेको र स्थानीय नेतासँग समन्वय नगर्ने पौडेललाई उम्मेदवार बनाएका कारण काँग्रेसभित्र निकै असन्तुष्टि देखिएको छ ।
यसो त केही समयअघि पौडेलले तनहुँमा सुकुम्बासी भनेर बाबुको नाममा सरकारी जग्गा दर्ता गरेको खुलासा भएको थियो । तनहुँको साविक ढोरफिर्दी गाविस वडा नम्बर ३ गणपति बजार नजिकै पर्ने हालको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ स्थित नक्सा नम्बर ३ ‘ख’ को कित्ता नम्बर १३९१ को एक रोपनी जग्गा प्रदीपले बाबुका नाममा दर्ता गराएका हुन् ।
प्रदीपले उदयराज गौलीको नेतृत्वमा २०५२ सालमा बनेको सकुम्बासी आयोगबाट घरनजिकैको सडक र आसपासको जग्गा हड्पेका हुन् । २०७४ सालको प्रदेशसभा चुनाव हारेका प्रदीप पौडेलको छवि राम्रो छैन् । जापान जाँदै गरेका पौडेललाई २०७४ असोज १ गते जापानको अध्यागमनले २० घण्टा थुनामा राखेर नेपाल फर्काइदिएको थियो । यसैगरी, पौडेलको नेतृत्वमा नेविसंघका कार्यकर्ताहरु हरि आचार्य, योगेन्द्र रावल, रुपेश शाह, रविनकुमार लामा, सयूज श्रेष्ठ, निरज रानामगर, दीपक ओझा लगायतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यपाक प्रेमबहादुर चलाउनेलाई अंगभंग गरेका कारण उनी अहिलेसम्म निको हुन सकेका छैनन् ।
FACEBOOK COMMENTS