काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले राज्यबाट सम्बोधन हुन बाँकी मधेसका समस्यालाई आफूले निर्वाचनमा उठान गरेको बताएका छन्।
महोत्तरी–३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ठाकुरले नागरिकताविहीन अवस्था आउन नदिन आफूले अनवरत प्रयास गरिरहेको बताए ।
उनले भने, “हामीले संविधान लेखन र घोषणाकै बेलादेखि मधेस मुद्दा सम्बोधन भएन भनेर असहमति राख्दै आएका छौँ । यी मुद्दा पूर्ण सम्बोधन नहोउञ्जेल हाम्रो आन्दोलन जारी रहनेछ ।”
अध्यक्ष ठाकुरका अनुसार यसअघिको सरकारले नागरिकता समस्या सम्बोधनको प्रयत्न गरेको देखाए पनि यसभित्र कुटिल दलीय अहंकारको प्रवेशले समाधान हुन सकेन । आफ्नो दलले यो समस्या यथाशक्य चाँडो सम्बोधन होस् भन्ने चाहिरहेको उनको भनाइ छ ।
आफूले निर्वाचन अभियानका क्रममा आम मतदाताबाट उच्च समर्थन पाइरहेको हुँदा जीतमा संशय नरहेको उनको भनाइ छ । हालको पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार ठाकुरका पक्षमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले समर्थन जनाएका छन् ।
महोत्तरी–३ मा यही मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि ९९ हजार नौ सय ३० मतदाता छन् । निर्वाचनमा प्रतिनिधिसभाका लागि यस क्षेत्रबाट तीन महिलासहित २१ उम्मेदवार छन् । यसमा स्वतन्त्रको सङ्ख्या १० छ । क्षेत्रभरिमा ७८ मतदान स्थलमा एक सय २९ मतदान केन्द्र रहेको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरले जनाएको छ ।
FACEBOOK COMMENTS