काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नंं. ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले अग्रता कायम राखेका छन् । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा उम्मेदवार पराजुलीले पाँच हजार छ सय ६९ मत प्राप्त गरी अग्रता लिएका निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिए ।
कूल २३ हजार ८७ मतगणना हुँदा दोस्रो मत नेकपा (एमाले)का उम्मेदवार श्यामकुमार घिमिरेले प्राप्त गरेका छन् । घिमिरेले चार हजार ३९२ र लोकतान्त्रिक–वाम गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईले तीन हजार नौ सय ५४ मत प्राप्त गरेको निर्वाचन अधिकृत श्रेष्ठले बताए । यस्तै एक हजार एक मत बदर भएको छ ।
काठमाडौँ क्षेत्र नं ७ मा प्रतिनिधिसभामा २९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १३ जना विभिन्न राजनीतिक दल र १६ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काठमाडौँको ठमेलदेखि नुवाकोटको ककनीसम्म फैलिएको उक्त निर्वाचन क्षेत्रमा २९ स्थानका ७१ मतदान केन्द्रमा मतदान भएको थियो । ६१ हजार २९२ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न मतदानमा ३७ हजार ६०० मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका थिए ।
FACEBOOK COMMENTS