काठमाडौं, मंसिर ८- प्रायोजन विपरीत मोटरसाइकल चलाएको आरोपमा पठाओका चालक ट्राफिक कारबाहीमा परेका छन् ।महानगरीय ट्राफिक प्रहरी वृत्त, स्वयम्भुका प्रहरी जवान विजय मण्डलले बा ७७ प ८१९९ नम्बरको मोटरसाइकल चालक विकास तामाङलाई भाडामा यात्रु ओसारेको आरोपमा जरिवाना लिएका हुन् ।
ट्राफिकले काटेको जरिवानाको चिटमा प्रयोजनविपरीत सवारी चलाएको उल्लेख गरिएको छ । सिन्धुपाल्चोकका तामाङले विगत ४ महिनादेखि पठाओमा काम गरिरहेका थिए ।
यातायात व्यवस्था विभागले निजी प्रयोजनको लागि दर्ता भएका सवारीलाई भाडा लिई यात्रु ओसारपसार गर्न रोक लगाएसँगै ट्राफिक प्रहरीले टुटल र पठाओका चालकलाई कारबाही गर्न थालेको हो ।
विभागले मंसिर ३ गते विज्ञप्ति जारी गर्दै ‘टूटल’ र ‘पठाओ’ लगायतका सवारी साधनले निजी सवारीलाई पनि भाडा लिएर यात्रु ओसारपसार गर्नु कानुनको उल्लंघन भएको जनाएको थियो ।
यसअघि पनि र्दुईपांग्रे सवारी प्रयोगकर्ता र उपभोक्ताबीच मध्यस्थता गराई भाडामा यात्रु बोक्दै आएको टुटल र पठाओले गैरकानूनी काम गरेको भन्दै विवाद आएको थियो । एउटा प्रयोजनका लागि दर्ता भएको सवारी साधन अर्को प्रयोजनमा प्रयोग नगर्न विभागले सचेत गराएको छ ।
विभागले यातायात व्यवस्था ऐनको दफा ८ ९१० मा ‘निजी सवारी सार्वजनिक यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन’ र दफा १२ मा ‘कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनमा लगाउन पाइने छैन’ भन्ने व्यवस्था अनुसार निजी सवारीसाधन सार्वजानिक प्रयोजनको लागि प्रयोग गर्न नपाइने बताएको हो।
सोही ऐनमा टेकेर विभागले निजी सवारीसाधनलाई यात्रु चढाएर भाडा असुल्ने कार्य नगर्न निर्देशन समेत दिएको छ ।
FACEBOOK COMMENTS