काठमाडौँ — विश्व बैंकले नेपालमा गर्दै आएको लगानी सहायतालाई दोब्बर बनाउन सहमत भएको छ ।
अर्थमन्त्री युवराज खतिवडा र बैंकका कार्यकारी निर्देशकहरूबीच मंगलबार भएको छलफलपछि लगानी दोब्बर बनाउन बैंक सहमत भएको हो ।
अर्थमन्त्री खतिवडाले बैठकमा नेपालको पाँचवर्षे विकास साझेदारी खाका प्रस्तुत गरेका थिए ।
विश्व बैंकले पछिल्लो चार वर्षमा १ अर्ब ३० करोड डलर (करिब एक खर्ब ४० अर्ब रुपैयाँ) बराबरको ऋण र अनुदान सहयोग नेपाललाई प्रदान गरेको थियो ।
विश्व बैंकले दिने अधिकांश सहायता रकम सहुलियतपूर्ण ऋण हुनेछ ।
विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) मार्फत नेपालले सहायता लिने हो ।
यसैगरी विश्व बैंकले वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत करिव १० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण दिने निर्णय पनि गरेको छ।
सन् २००२ देखि औपचारिक रुपमा वित्तिय क्षेत्र सुधार कार्यक्रम लागू भएको हो।
– कान्तिपुर
FACEBOOK COMMENTS