काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थामा एक व्यक्तिले एउटाबाट मात्र ऋण लिन पाउने व्यवस्थासहित दोहोरो सदस्यता नियन्त्रण गर्ने भएको छ ।
एउटै व्यक्तिलाई लघुवित्तहरूले आवश्यकताभन्दा बढी ऋण दिएका कारण तिर्न नसक्ने अवस्था सृजना भएको र यसले गरीबलाई झन् गरीब बनाएको भन्दै आलोचना हुन थालेपछि केन्द्रीय बैंकले यसमा कडाइ गर्न लागेको हो ।
लघुवित्तका समस्या र समाधान पहिचान गर्न नेपाल आर्थिक पत्रकार समाज ९सेजन०ले सोमवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले एक व्यक्ति एकभन्दा बढी वित्तीय संस्थामा सदस्य तथा ऋणी बन्न नपाउने गरी निर्देशिका ल्याउने तयारी भइरहेको जानकारी दिए । ‘संकटमा रहेका ऋणीबारे अध्ययन गरेर १ महीनाभित्र रिपोर्ट ल्याउन लघुवित्तहरूलाई निर्देशन दिइसकेका छौं,’ उनले भने, ‘त्यसका आधारमा हामी आवश्यक नीति बनाएर अघि बढ्नुपर्छ ।’
राष्ट्र बैंकको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका ६४ ओटा लघुवित्तले ५९ लाख ३६ हजार सदस्य बनाएका छन् । त्यसमध्ये ३३ लाख १० हजार सदस्यलाई ऋण दिएका छन् । लघुवित्तले प्रतिसदस्य समूह जमानीमा ७ लाख रुपैयाँसम्म र धितोमा १५ लाख रुपैयाँसम्म लगानी गर्न पाउँछन् । तर, एउटै व्यक्तिलाई एकभन्दा बढी लघुवित्तले सदस्य बनाएर ऋण दिएका कारण तिर्न नसकी ऋणीले आत्महत्या समेत गरेको समाचार सार्वजनिक हुन थालेका छन् ।
लघुवित्तले समूहमा लगानी गर्ने र ऋण सम्झौता सामूहिक रूपमा हुने गरे पनि वित्तीय साक्षरताको अभाव र नाफा कमाउने प्रवृत्तिका कारण संस्थाहरूले यसको मूल मर्म बिर्सिएको निर्देशक नेपालले स्वीकार गरे । ‘ऋण लगानी गर्नुअगाडि तालीम दिनुपर्छ । अन्य प्रक्रिया पनि पूरा गर्नुपर्छ,’ कार्यकारी निर्देशक नेपालले भने, ‘चाँडै नाफा कमाउन खोज्नेले बदनाम गरे अब सुधार गरेर अघि बढ्नुको विकल्प छैन ।’ लघुवित्त क्षेत्रमा देखिएका कमी कमजोरी सुधार गर्न सकिने भन्दै यसको ३० वर्षको योगदानलाई बेवास्ता नगर्न पनि उनले आग्रह गरेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS