काठमाडौं । मल आयात गर्न नेपाल र भारत सरकार (जीटुजी)बीच सम्झौताअनुसारको दोस्रो चरणको रासायनिक मल तत्काल नआउने भएको छ ।
बजेट अभावका कारण जीटुजीको मल आयात गर्न नसकिने भएको हो । पहिलो चरणको ३० हजार छ सय मेट्रिक टन मल आयात भए पनि बाँकी मल तत्काल आयात नहुने देखिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जीटुजीअन्तर्गतको मल आयात गर्न अग्रिम रकम भुक्तानी गर्नुपर्ने हुँदा बजेट अभावले तत्काल आयात गर्न नसकिने बताए ।
अर्थ मन्त्रालयबाट हालै स्रोत सुनिश्चित गरेको सात अर्ब ५० करोड रुपियाँले ग्लोबल टेन्डरबाट मल आयात गरिने हुँदा जीटुजी मलको आयात गर्न थप रकम आवश्यक पर्ने उनले जानकारी दिए ।
नेपाललाई वार्षिक कम्तीमा एक लाख मेट्रिक टन युरिया तथा ५० हजार टन डीएपी मल उपलब्ध गराउने गरी गत वर्ष फागुन दोस्रो साता भारत र नेपाल सरकारबीच सम्झौता भएको थियो ।
जीटुजीमार्फत दोस्रो वर्षमा एक लाख ७० हजार मेट्रिक टन, तेस्रो वर्षमा एक लाख ९५ हजार मेट्रिक टन, चौथो तथा पाँचौँ वर्षमा दुई लाख १० हजार मेट्रिक टन रासायनिक मल उपलब्ध गराउने सम्झौता भएको थियो । जीटुजीमार्फतको ३० हजार छ सय मेट्रिक टनका लागि तीन अर्ब ३३ करोड रुपियाँ खर्च भएको छ । जीटुजीको मल माघ दोस्रो साता आइसकेको छ ।
सरकारले मल खरिद गर्न चालू आर्थिक वर्षको बजेटमा १५ अर्ब रुपियाँ बजेट विनियोजन गरेको थियो तर अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भई मल अभाव हुन नदिन कृषि मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालयले गत साउन महिनामा १६ अर्ब रकमको स्रोत सुनिश्चित गरेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS