काठमाडौं । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा अवरोध छ ।
हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका वडाहरू १५, १६ तथा १७ स्थित हटिया र सर्लाहीको लालबन्दी नगरपालिकाको जियाजोर क्षेत्रमा करीब ६ वर्षदेखि निर्माणमा अवरोध भइरहेको छ ।
हटिया क्षेत्रमा १४ ओटा, हेटौंडा उपमहानगरपालिका वडा नं ११ स्थित थाना थानाभर्याङमा २ ओटा र जियाजोर क्षेत्रमा ८ ओटा टावर निर्माणमा अवरोध छ । थानाभर्याङस्थित सबस्टेसनमा लाइन पुर्याउन दुईओटा टावर निर्माण गर्नुपर्नेछ । यसबाट ऐलानी जग्गामा बनेका ४६ ओटा घर प्रभावित हुनेछन् ।
त्यस क्षेत्रका स्थानीय बासिन्दाले प्रसारण लाइनको रूट परिवर्तनको माग गर्दै निर्माणमा अवरोध गर्दा करीब १० वर्षअघि शुरू भएको रणनीतिक महत्त्वको प्रसारण लाइन निर्माण सम्पन्न हुन सकिरहेको छैन । स्थानीय अवरोध खुलाई निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले गरिरहेको निरन्तरको प्रयास पनि सफल हुन सकिरहेको छैन । मकवानपुरको हेटौंडा उप–महानगरपालिका–११ थानाभर्याङ सबस्टेसनबाट शुरू भई सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसनमा जोडिने प्रसारण लाइन १० जिल्ला पार भएर जान्छ ।
प्रसारण लाइनको मार्ग परिवर्तनको माग गर्दै निर्माणमा स्थानीयको अवरोध, सर्वोच्च अदालतको अन्तरिम आदेश, वन क्षेत्रको जग्गा प्रयोग तथा रूख कटान स्वीकृतिको प्रक्रियागत उल्झन, ठेकेदारको कमजोर कार्यसम्पादनलगायत कारण निर्माणमा ढिला भएको हो । ३० महीनामा निर्माण सम्पन्न गर्नेगरी २०६९ को माघमा ठेक्का सम्झौता भएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS