काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आजको दिन आउने विषयमा आफू पहिलेको गठबन्धन बनेको एक/दुई दिनमै जानकार रहेको बताएका छन्।
उनले आफूले राजनीतिको नाडी छामेरै यहाँ आइपुगेकाले उक्त कुरामा विश्वस्त रहेको उल्लेख गरे।
नेपालले भने, ‘पहिलो र दोस्रो दिनमै आकलन गरेको थिएँ। राजनीतिको नाडी हामीले पनि छामेका छौं। छामेरै यहाँ आइपुगेका हौं।’
यसरी छिटोछिटो नयाँ ढंगले सरकार गठन र पुनर्गठन हुने कुरा जनताले नसोचेको उनले बताए। नेपालको राजनीति तरल अवस्थामा रहेकाले यस्तो अवस्था आएको उल्लेख गरे।
एमालेतिर संकेत गर्दै कसैले घोक्र्याएर निकाले र कसैले निस्किनुपर्ने अवस्था बनेको बताइरहेको उल्लेख गर्दै उनले आफू अन्योलमा रहेको बताए।
नेपालले थपे, ‘कुरा सुन्दा म पनि अन्योलमा परेको छु। यो भन्दा पहिले प्रचण्ड प्रधानमन्त्री हुँदा रहेको गठबन्धनलाई घोक्र्याएर निकालियो भन्ने पनि सुनियो। आफैं निस्किनुपर्ने अवस्था बन्यो भन्ने पनि सुनें। के कति कारणले गर्दा त्यतिखेर कायम भएको गठबन्धन टुट्यो। के कारणले नयाँ गठबन्धन निर्माणको अवस्थामा पुग्यो। यो खोज र अनुसन्धानको विषय बन्छ।’
उनले गठबन्धन टुट्ने कुरा आत्मसमीक्षाको विषय बन्नुपर्ने बताए। यस्तो अवस्थामा नेताहरु अरुलाई दोषारोपण गर्ने कुरामा केन्द्रित रहने तर आफूलाई नसुधार्ने उनले बताए। त्यस्तो प्रवृत्ति कायम रहेसम्म राजनीति सही दिशामा नजाने उल्लेख गरे।
एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले भने, ‘किन सहकार्य हुन सकिरहेको छैन? किन टिकाउ हुन सकिरहेको छैन? आत्मसमीक्षा गर्नुपर्छ।’
गत २६ पुसमा पहिलाे पटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभामा फेरि विश्वासको मत मागेका छन् । त्यस क्रममा एमाले र राप्रपाका नेताहरुले प्रधानमन्त्रीले दुई दुई महिनामा विश्वासको मत लिने अवस्था त आउने होइन भनेर प्रश्न गरेका थिए ।
‘त्यो अवस्था आउँदैन भन्ने कुराको मलाई विश्वास छ । अब यो गठबन्धन आउने ५ वर्षसम्म टिक्छ, राजनीतिक स्थायित्व दिन्छ, देशलाई विकासको बाटोमा अगाडि बढाएर लिएर जान्छ, राष्ट्रको सबै चुनौतीहरुको सामना गर्न यो गठबन्धन एकतावद्ध भएर अगाडि बढ्छ’ उनले भने ।
FACEBOOK COMMENTS