काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका दावेदार अञ्जन श्रेष्ठ र रामचन्द्र संघाईलाई मिलेर जान सत्तारूढ गठबन्धनका नेताहरूले दबाव दिएका छन् । यहि चैत्र २८ र २९ मा काठमाडाैंमा हुने निर्वाचनमा अञ्जन र रामचन्द्र मिलाउन गठबन्धनका नेताहरू सक्रिय भएर लागेका हुन् ।
महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अधयक्ष हुने वैधानिक व्यवस्था छ। जसअनुसार यसअघि वरिष्ठ उपाध्यक्षमा निर्वाचित चन्द्रप्रसाद ढकाल चैत अन्तिमदेखि अध्यक्ष हुँदै छन्। त्यसका अलावा निवर्तमान वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, हालका वस्तुगत उपाध्यक्ष अन्जन र हालका एसोसिएट उपाध्यक्ष रामचन्द्रले वरिष्ठ उपाध्यक्षको लागि तयारी थालेका छन्।
जसमध्ये अञ्जन र उमेशलाल आफ्नो टीमसहित देशव्यापी प्रचार अभियानमा जुटेका छन् भने रामचन्द्र काठमाडौंबाटै रणनीति बनाउँदैछन् । स्राेतका अनुसार उनीहरू (अञ्जन -रामचन्द्र)लाई टिम मिलाएर लैजान गठबन्धनभित्र छलफल चलेकाे दावी गरिन्छ । कांग्रेस नेतृ डा. आरजु राणा देउवाले अञ्जन-रामचन्द्रको पक्षमा केही व्यवसायीलाई ‘लाइन’ दिएको चर्चा पनि छ ।
डा. राणानिकट डा. प्रकाशशरण महत अर्थमन्त्री बनेका छन् । अर्थमन्त्री कांग्रेसबाट महत बनेपछि उनीहरूलाई मिलाउन कांग्रेसका नेताहरू सक्रिय भएर लागेका छन् । हाल, अर्थतन्त्रको अवस्था दयनीय भएकाे र निर्वाचनमा मिलेर जाँदा अर्थतन्त्र सुधारमा सहज हुन्छ भन्दै कांग्रेस नेताहरू अञ्जन-रामचन्द्र मिलाउन लागेका हुन् ।
महासंघमा लोकतान्त्रिक अभ्यासमार्फत नेतृत्व चयन हुँदै आएको छ। छाता संगठनको नेतृत्व चयनमा हुने चुनावले व्यावसायिक क्षेत्रलाई सधैँ तरंगित बनाउँछ। उम्मेदवारी दर्ता नजिकै गर्दा अहिले कर्पोरेट हाउसदेखि वस्तुगत संगठनहरुसम्म चुनाव केन्द्रित हुन थालेका छन्। चैत्र २१ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ।
सर्वसम्मतको प्रयास समेत नभएकाले यसपटक पनि नेतृत्वमा उद्योगी व्यवसायीले चुनाव लड्ने देखिएको छ। महासंघका सम्भावित उम्मेदवारहरु जिल्ला नगरका कार्यक्रमहरु सकेर काठमाडौं आएका छन्।
वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाललाई प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट व्यवसायीहरुको खुला समर्थन रहेकाे छ । श्रेष्ठ एमाले अध्यक्ष ओली निकट मानिन्छन् ।
महासंघ उपाध्यक्ष रामचन्द्र संघई सत्तारुढ राजनीतिक दलबाट समर्थनको प्रयासमा देखिन्छन् । कांग्रेसबाट बागमती प्रदेशसभा समानुपातिक सांसदको सूचिमा रहेका व्यवसायी सुरकृष्ण वैद्य उनकै प्यानलबाट जिल्ला तथा नगर उद्योग वाणिज्य संघ उपाध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेकाले सरकार समर्थित दलहरुबाटै सदभाव बटुल्ने उनको प्रयास देखिन्छ ।
कांग्रेसभित्र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रभाव जिल्लास्तरमा रहेका कारण त्यसको लाभ अञ्जनले पाउन सक्छन् । यसअघि वस्तुगत उपाध्यक्षमा उमेशलालसँगै प्रतिस्पर्धा गरेका अञ्जन श्रेष्ठले नाटकीय नतिजा निकाल्न सक्नुमा पनि कांग्रेसका तत्कालीन केन्द्रीय सदस्य र हालका महामन्त्री थापाको प्रभावका रुपमा अर्थ्याइएको थियो ।
FACEBOOK COMMENTS