काठमाडौं । सत्ता गठबन्धनका कारण मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त बनेको नेकपा एमालेले जनाएको छ ।
शनिबार बसेको सचिवालय बैठकले मुलुकको वर्तमान आर्थिक सङ्कटबारे गम्भीर छलफल गरी गठबन्धनकै कारण समस्या सृजना भएको निष्कर्ष निकालेको हो ।
‘करिब दुई वर्षमा मुलुकको अर्थतन्त्र सबै क्षेत्रमा सङ्कटग्रस्त बन्दै गएको छ । व्यापार घाटा निरन्तर बढ्दो छ । राष्ट्रिय उत्पादन निरन्तर ओरालो लागिरहेको छ । आर्थिक वर्षको ८ महिना सकिन लाग्दासमेत २२ प्रतिशतभन्दा बढी पुँजीगत खर्च हुन नसक्नु, निर्माण व्यवसायीहरुले सम्पन्न कामहरुको समेत भुक्तानी नपाउनु र विकास निर्माणका कामहरु ठप्पसरह हुनु सरकारको अक्षमताका दृष्टान्त हुन्,’ बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
मौद्रिक तरलताको सङ्कट समाधानका लागि ठोस पहल गर्न, बैंक, वित्तीय संस्था र लघुवित्तहरुको ब्याजदर घटाउन, त्यसलाई बाञ्छित सीमाभित्र कायम राख्न र व्यवसायीहरुका समस्या सम्बोधन गर्न एमालेले सरकारसँग जोडदार माग गरेको छ ।
‘आर्थिक अनुशासन भताभुङ्ग हुँदै गइरहेको छ र व्यवसायीहरु निराश, हतोत्साही र व्यवसायबाट पलायन हुन थालेका छन् । सहकारी संस्थाहरुमा सङ्कट देखिन थालेको छ भने लघुवित्तको चर्को ऋणबाट पीडितहरु सडकमा छन् । तर, सरकार यी सबै विषयप्रति संवेदनहीन, गैरजिम्मेवार र आफ्नो संवैधानिक दायित्वबाट विमुख बन्दै गइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
FACEBOOK COMMENTS