काठमाडाैं । भारतको उत्तराखण्ड र नेपालको सुदूरपश्चिम प्रदेशबीच एकीकृत अर्थसामाजिक विकास योजनाको सम्भावना खोज्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलन आयोजना गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा शनिबारदेखि सुरु भएको उक्त सम्मेलनका सहभागी प्राज्ञ तथा जानकारले दुई देशबीच धार्मिक, सांस्कृतिक, भौगोलिक, आर्थिकलगायतका विविध आयामबाट जोड्न सक्नेगरी मानसखण्डको ऐतिहासिक अन्वेषणको आवश्यकता औंल्याए । सम्मेलनको उद्घाटन गर्नुहुँदै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलेयस क्षेत्रको एकीकृत अर्थसामाजिक विकासका लागि मानसखण्ड करिडोरको अवधारणाले मार्गदर्शन गर्ने बताए ।
जलस्रोत उपयोग, धार्मिक पर्यटन प्रवद्र्धनलगायत क्षेत्रमा दुई देशबीच समन्वयको आवश्यकता उनले औंल्याए । “मानसखण्ड क्षेत्रको हाम्रो सभ्यता, संस्कृति, रहनसहन समान छ, र यो अहिले पनि कायम छ”, उनले भने– “यसैमा आधारित भएर हामीले आर्थिक सम्बन्धलाई पनि बलियो बनाउन आवश्यक छ ।” नेपाल र भारतले संयुक्त लगानीमा सुदूरपश्चिम प्रदेशका नदीबाट विद्युत् उत्पादन गरी एसियाली बजारमा पुर्याउन सकिन्छ । यस क्षेत्रको विकासका लागि सामाजिक, सांस्कृतिक र आर्थिकरुपमा एकतावद्ध भएर जानुपर्ने मुख्यमन्त्री शाहको धारणा थियो ।
प्राकृतिक स्रोतको उपयोगका लागि पनि संयुक्त पहल गरिनुपर्नेमा उनले जोड दिए । सुदूरपश्चिमको जलस्रोत उपयोग र कनेक्टिभिटी पूर्वाधार निर्माणका लागि समन्वय र सहकार्य आवश्यक रहेको मुख्यमन्त्री शाहको भनाइ छ । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरपश्चिम र उत्तराखण्ड क्षेत्रलाई भूराजनीतिक रुपमा फरक बनाए पनि सामाजिक, साम्प्रदायिक र सांस्कृतिक रुपमा सदियौंँदेखि एकताबद्ध रहेको बताए । सुदूरपश्चिमका विभिन्न ऐतिहासिक प्रसङ्ग उल्लेख गर्नुहुँदै रावलले तिनै धार्मिक, सांस्कृतिक समानताले दुई देशका नागरिकबीच अहिले पनि निकै कसिलो सम्बन्ध कायम गरिराखेको बताए ।
सम्मेलनमा अन्तर्राष्ट्रिय सहयोग परिषद्का अध्यक्ष श्याम पाण्डेले सामाजिक, सांस्कृतिक र आर्थिक रुपमा कसरी जोडिएका छ्न भन्ने विश्लेषण गरेर मानसखण्ड करिडोरका लागि पहल गरिनुपर्ने बताए । सामाजिक रुपमा सधैँ मिलेर बसेको उल्लेख गर्नुहुँदै उनले धार्मिक पर्यटन, रोजगार, कृषिजस्ता जनजीविकासँग जोडिएका क्षेत्रलाई समेटेर मानसखण्ड करिडोर कनेक्टिभिटी तयार पारिनुपर्ने बताए । अहिलेको भारतको उत्तराखण्ड र नेपालको सुदूरपश्चिम प्रदेश जोड्ने मानसखण्ड क्षेत्रलाई पौराणिक रुपमा उल्लेख गरिएको आचार्य घनश्याम लेखकको भनाइ छ । स्कन्द पुराणले कुमाउँको नन्द पर्वतदेखि कर्णालीको काकगिरि (कागमारालेक) सम्मको भूभागलाई मानसखण्डका रुपमा परिभाषित गरेको लेखकले बताए ।
सुदूरपश्चिम विश्वविद्यालयले आयोजना गरेको सम्मेलनमा अन्तर्राष्ट्रिय सहयोग परिषद्, कुमाउँ विश्वविद्यालय, नेपाल–भारत सहयोग मञ्च, महाकाली साहित्य मञ्चलगायत प्राज्ञिक संस्थाको समन्वय रहेको छ । नेपाल–भारत सभ्यता र सांस्कृतिक सम्पर्क निर्माणको अपरिहार्यता मुख्य विषयवस्तु रहेको मानसखण्ड सम्मेलनमा यस क्षेत्रका पौराणिक तथा पुरातात्त्विक करिडोर, धार्मिक पर्यटनसँगै तीर्थयात्रीको अधिकार तथा सुरक्षा, मन्दिर अर्थतन्त्रलगायत विषयमा नेपाल र भारतका प्राज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलन तीन दिनसम्म चल्नेछ ।
FACEBOOK COMMENTS