काठमाडौं । म्यानमारको राजधानी यगुनबाट भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा सञ्चालन गर्न नेपालले पहल थालेको छ ।
बौद्ध धर्मावलम्बी बाहुल्य भएको देश म्यानमारबाट सिधा उडान गर्न सके लुम्बिनीमा समेत पर्यटक आगमन बढ्ने र गौतमबुद्ध विमानस्थलमा समेत हवाई यातायात सूचारु हुने नेपाल पर्यटन बोर्डको भनाइ छ ।
बोर्डले मंगलबार नेपालका लागि म्यामारका राजदूत र म्यानमारका लागि नेपाली राजदूत, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका उच्च अधिकारी, लुम्बिनी विकास कोषका पदाधिकारी तथा म्यानमार नेशनल एयरलाइन्सका कार्यकारी प्रमुख सहित सरोकारवालासँग काठमाडौंमा उच्चस्तरिय छलफल गरेको छ ।
छलफलमा नेपाली पक्षले म्यानमारबाट भैरहवा सिधा उडानको म्यानमार तयार रहे आवश्यक सहयोगका लागि तयार रहेको बताए । नेपालले म्यानमारको टोलीलाई थप प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।
छलफल कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष मैत्य शाक्यपुत्ताले नेपाल र म्यानमारबीच सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै सिधा उडान हुन सके म्यानमारबाट लुम्बिनी आउने पर्यटकहरु बढने बताए ।
म्यानमारको नेशनल एयरलाइन्सका कार्यकारी प्रमुख क्याप्टेन कुप खान्मुङले आफूले गौतमबुद्ध विमानस्थल निरीक्षण गरेर फर्किएको र सिधा उडानबारे आफूहरु सकारात्मक रहेको बताए ।
उनले यसको लागि आवश्यक प्राविधिक तथा व्यावसायिक योजनाकासाथ छलफल अगाडि बढाइने समेत बताए ।
FACEBOOK COMMENTS