काठमाडौँ । नयाँ स्टक एक्सचेञ्ज सञ्चालनका लागि हिमालयन स्टक एक्सचेञ्जको आवेदन परेको छ। शुक्रबार हिमालयन स्टक एक्सचेञ्जको नामबाट नेपाल धितोपत्र बोर्डमा आवेदन परेको एक अधिकारीले जानकारी दिए।
नयाँ स्टक सञ्चालनको लागि आवेदन दिने वैशाख १० गते अन्तिम दिन भए पनि सार्वजनिक विदा हुँदा सोमबारसम्म आवेदन दिन मिल्ने ती अधिकारीले बताए। नयाँ स्टकका लागि तीन अर्ब रुपैयाँ चुक्ता पुँजी तोकिएको छ। यो सर्वसाधारणको सेयरसहित हो। संस्थागतले ७० प्रतिशत लगानी गरे हुन्छ।
बोर्डले गत बिहीबार सूचना जारी गर्दै नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार कम्पनी स्थापनाका लागि प्रक्रिया अगाडि बढाएको थियो। बोर्डले १० दिनको समय दिँदै इच्छुकसँग आवेदन माग गरेको थियो। हिमालयन स्टक एक्सचेञ्ज कम्पनीमा हिमालयन रिइन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरु नै मुख्य सेयरधनी छन्।
हिमालयन स्टकमा मुख्य लगानी दुई घरानाको छ। शंकर ग्रुप अन्तर्गको कम्पनीको १५ र दीपक भट्ट समूहको १५ प्रतिशत लगानी छ।
यसबाहेक नेपाल उद्योग वाणिज्य महासघंका पूर्वअध्यक्षहरु भवानी राणा, पशुपति मुरारका, शेखर गोल्छाका कम्पनीहरुको लगानी छ। बोर्डले नयाँ स्टकका लागि व्यक्तिगत लगानीलाई अस्वीकार गरेकाले सबैले कम्पनी खोलेर संस्थागत लगानी गरेका छन्।
अहिले सरकारको समेत मुख्य लगानीमा नेपाल स्टक एक्सचेञ्ज सञ्चालनमा छ। बोर्डले अर्को एउटा स्टक एक्सचेञ्ज थपेर प्रतिस्पर्धात्मक वातावरण तयार पार्न खोजेको हो।
एउटा मात्र स्टक एक्सचेञ्ज हुने र त्यो पनि सरकारी लगानीले गर्दा छिटो र आमुल रुपमा आधुनिकीकरण गर्न सकिएको छैन। नयाँ स्टक आउँदा आधुनिक प्रविधि तत्काल प्रयोगमा ल्याउन सकिने र नेपाल स्टक एक्सचेञ्जलाई पनि प्रतिस्पर्धी आउँदा गुणस्तर सुधार गर्न बाध्यता आइपर्ने बुझाइ छ।
FACEBOOK COMMENTS