काठमाण्डौं । नेपालले एसीसी प्रिमियर कपमा कतारलाई १५८ रनको सामान्य लक्ष्य दिएको छ ।
किर्तिपुरस्थित स्थित टीयु क्रिकेट ग्राउण्डमा बिहिबार जारी खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले ४०.१ ओभरमा अलाउट हुँदै जम्मा १५७ रनको योगफल बनाएको हो ।
कुल १११ रनमा ९ विकेट गुमाएको अवस्थामा नेपालका लागि सन्दीप लामिछाने र ललित राजवंशीले अन्तिम विकेटका लागि ४६ रनको साझेदारी गर्दै सम्मानजनक योगफलसम्म पुर्याए ।
सन्दीपले नेपालका लागि सर्वाधिक ४२ रनको पारी खेले भने सन्दीपले नेपालका लागि सर्वाधिक रनको पारी खेले भने कप्तान रोहित पौडेलले २७ रन बनाए । यो सन्दीपको एकदिवसीय करियरको सर्वाधिक स्कोर समेत हो ।
नेपालले कुल ९ रनको योगफलमा आफ्नो पहिलो दुई विकेट गुमाउँदै खराब शुरुवात गरेको थियो । कुशल भुर्तेल २ रन बनाउँदै गायान मुनाविराको सिकार बन्दै पभिलियन फर्किएका थिए । यस्तै भिम सार्की ६ रन बनाउँदै मुनाविराकै बलमा आउट भएपछि नेपालको संकट शुरु भएको थियो ।
यसपछि तेस्रो विकेटका लागि आएका कप्तान रोहित पौडेल र आपेनर आशिफ शेखले नेपालको पारीलाई सम्हाल्ने प्रयास गर्दै ४८ रनको साझेदारी गरेका थिए । तर, १३औं ओभरमा नेपालको योगफल ५७ हुँदा आशिफ १९ रन बनाउँदै इक्रामुल्लाह खानको बलमा आउट हुन पुगे ।
यसपछि १६औं ओभरमा २७ रन बनाएका रोहित पनि ओवेस एहमदको सिकार बन्दै मैदानबाट बाहिरिन बाध्य बने ।
यसबाहेक सोमपाल कामी र आरिफ शेखले ११ र दीपेन्द्रसिंह एरीले १२ रन जोडे । कतारका लागि बलिङ्गमा ओवेस एहमद र आमिर फारुकले समान ३–३ विकेट लिए ।
कतारबिरुद्ध सेमिफाईनलमा स्थान सुरक्षित गरिसकेको नेपाल जित निकाल्दै समूह विजेता बन्ने दाउमा हुनेछ । नेपालले यसअघि भएका तिनमध्ये दुई खेलमा जित निकालेको थियो भने साउदी अरेबियाविरुद्धको खेल वर्षाका कारण रद्द हुन पुगेको थियो ।
पहिलो खेलमा मलेसियालाई ६ विकेटले हराएको नेपालले दोश्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । वर्षा बाधक बन्दा खेल हुन नसकेपछि नेपालले तेश्रो खेलमा भने साउदी अरेबियासँग एक एक अंक बाँढेको थियो ।
तीन खेलबाट ५ अंकका साथ नेपाल अहिले समूहको दोस्रो स्थानमा छ । यता प्रतियोगिताबाट बाहिरिने निश्चित भइसकेको कतार भने आज सान्त्वना जितसहित नेपाल भ्रमणको अन्त्य गर्ने योजनासहित मैदानमा उत्रिने छ । अघिल्ला तीनै खेलमा पराजित कतार शुन्य अंकका साथ समूहको पुछारमा छ ।
यस समूहमा चार खेल खेलेर ६ अंक बटुलेको ओमान शिर्ष स्थानमा छ ।
११ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा सहभागि टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत समूह ‘ए’मा आयोजक नेपालसँगै मलेसिया,साउदी अरेविया,कतार र ओमान रहेका छन् । यस्तै समूह ‘बी’मा बहराइन, कुवेत, सिंगापुर, हङ्गकङ्ग र युएई रहेका छन् ।
बैशाख १८ गतेसम्म किर्तिपरस्थित टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदान गरि दुई स्थानमा हुने प्रतियोगितामा कुल २४ खेल हुनेछन् । प्रतियोगितामा दुवै समूहको शीर्ष दुई टोलीले सेमिफइनलमा स्थान बनाउने छन् । सेमिफाइनलका विजेताले फाइनल खेल्ने छ ।
फाइनलको विजेताले आगामी सेप्टेम्बरमा आयोजना एशिया कपमा आफ्नो स्थान सुरक्षित गर्नेछ । एशिया कप आगामी जुलाईमा हुनेछ । यसैगरी शीर्ष तीनमा रहने टोलीले एशिया ईमर्जिङ्ग कपका लागि आफ्नो स्थान पक्का गर्नेछ ।
FACEBOOK COMMENTS