काठमाडाैं । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले चैत २३ गतेदेखि स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (बैशाख २४ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको १० प्रतिशत अर्थात २ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २ लाख ८० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो। सो आईपीओमा खोटाङ्ग जिल्ला केपीलासगडी गा.पा. (साविक फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गा.वि.स.) का सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। स्थानिय बासिन्दाहरुले सो आईपीओमा अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले निर्माण गरी सञ्चालन गरेको ३ मेगावाटको माथिल्लो रावा खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत ६४ करोड ६५ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ५५ लाख रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.८९ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २४.५५ वर्ष रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमति २९ वर्ष ११ महिना बाँकी रहेको छ। कम्पनीले २०७७ असोज १४ गतेदेखि व्यापारिक विद्युत उत्पादन गरिरहेको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले आयोजना स्थल, सेञ्चुरी कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटलबाट आवेदन दिन सक्नेछन्।
FACEBOOK COMMENTS