काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल हाइड्रो डेभलोपरका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
उनले उक्त सेयर खरिद बिक्रीमा जालसाजीयुक्त कारोबार गरेको भन्दै मुद्दा दायर गरेको हो।
प्रधानले आफू कम्पनीको अध्यक्ष हुँदा आफ्नो नामको सेयर श्रीमती, छोरा र छोरीलाई नामसारी गर्दै बिक्री गरेकाले जालसाजीयुक्त कारोबार गरेको सेबोनको आरोपपत्रमा उल्लेख छ।
०७८ फागुन २५ गते प्रधानले गैरकानूनी रुपमा सेयर कारोबार गरेको अनुसन्धानमा देखिएको भन्दै उनलाई १ देखि ३ लाख रुपैयाँसम्म जरिवाना, २ वर्ष कैद वा दुबै सजाय हुनुपर्ने माग दाबी गरेको छ।
‘सेयर खरिद बिक्री गर्ने कार्य धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३को नियम ३८ को उपनियम (१क) विपरीतको कार्य भएको हुँदा ज्ञानेन्द्रलाल प्रधानले आफूले अध्यक्ष हुँदाका बखत तथा सो पदबाट हटेको एक वर्ष पूरा नभएसम्म कुनै तरिकाले सेयर हस्तान्तरण गर्न नहुने नियमको विपरीत श्रीमतीलाई घरायसी नामसारी गराई सो सेयर दोस्रो बजारमा श्रीमतीको माध्यमबाट सेयर बिक्री गर्ने गरेको देखियो,’ अभियोगपत्रमा भनिएको छ।
‘नेप्से, सिडीएससी तथा धितोपत्र दलाल व्यवसायीले पेस गरेको विवरणहरुबाट प्रष्ट हुन आउँछ। यसरी निजले आफू स्वयम्ले आफ्नो सेयर बिक्री नगरेता पनि परिवारको सहयोग लिई सेयर बिक्री गर्ने कार्य सफा मनशायले गरेको देखिएन,’ अभियोगपत्रमा अघि भनिएको छ।
प्रधानले धितोपत्र लगायतका कानुनमा रहेको छिद्र प्रयोग गरी श्रीमती, छोरा तथा छोरीको नाममा घरायसी नामसारीको परिपञ्च गरी सोही सेयर बिक्री गरेको अवस्था देखिँदा संस्थागत गतिविधि कर्पोरेट एक्सनभन्दा पनि बजार मूल्यबाट लाभ लिने गरी कारोबार गरेको देखिएको आरोपपत्रमा उल्लेख छ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९८ को बजारमा जालसाजीयुक्त कारोबार गरेको देखिएकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९८ को खण्ड–क अनुसार सजाय हुनुपर्ने आरोपपत्रमा उल्लेख छ।
FACEBOOK COMMENTS