काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कोही पनि दोषी उम्किनु नहुने बताएका छन्।
ललितपुरको च्यासलस्थित एमालेको मुख्यालयमा आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले निर्दोषलाई फसाउन र दोषीलाई उम्काउन खोजे आफूले त्यसको विरोध गर्ने बताए।
अध्यक्ष ओलीले नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वाग्रहपूर्ण ढङ्गले कसैलाई फसाउन खोजिएको दावी गरे।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी नउम्कियोस् र निर्दोषलाई नफसुन भनेर आग्रह गरेको समेत बताए।
उनले अनुसन्धानलाई सहयोग गर्नका लागि पार्टीका सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेकोसमेत दावी गरे।
अध्यक्ष ओलीले नेपालीलाई राज्यविहीन बनाउने र विदेश पठाउने मानिस देशद्रोही भएको भन्दै यसप्रकरणमा यसअघि समातिएका व्यक्तिलाई किन छाडियो भनेर प्रश्न गरे। राज्यको अर्बौको ढुकुटी कुल्याउन भ्रष्टाचारका मुद्दा खोजी खोजी छानबिन गर्न ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रहसमेत गरे।
‘राज्यको ढुकुटी खल्तीमा हाल्नु भनेको भ्रष्टाचार हो । राज्यको ढुकुटी अर्बौको सम्पत्ति कुम्लाउनविरुद्ध अख्तियारले छानबिन गर्नुपर्ने छ,’ उनले भने, ‘तर भ्रष्टाचारका मुद्दालाई अख्तियारमा त्यतिकै राखेको छ ।’
उनले सरकारले भूटानी शरणार्थी वर्गीकरण नगरेर अयन्त्रबाट आएको, भुटानबाट अपराध गरेर आएका भनेर चार बुँदे सहमति गरेपछि शरणार्थीलाई भुटान फर्काउन समस्या भएको बताए ।
उनले नेपाली भाषी भुटानी योजनाबद्ध ढङ्गले लखेटिएको र उनीहरुलाई भुटान फिर्ता पठाउन सम्भव नभएपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको समयमा आफूले भुटानी शरणार्थीको समस्या तेस्रो मुलुक पठाएर समाधान गर्न सुझाव दिएको दावी गरे। साथै आफू परराष्ट्रमन्त्री भएको समयमा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुससँग शरणार्थी समस्या समाधान गर्न पनि आग्रह गरेको बताए ।
FACEBOOK COMMENTS