काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले खप्तडमा लगानी बढाउनका लागि सरकारसँग सहकार्य गर्नुपर्ने बताएका छन् ।
सार्वजनिक निजी साझेदारीका आधारमा सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तडमा लगानी गर्न सरकारको सहयोग आवश्यक पर्ने उनको भनाइ छ ।
खप्तडमा पर्यटन पूर्वाधार निर्माण र पर्यटन प्रवद्र्धनका लागि महासङ्घसँगको सहकार्यका लागि आएको सङ्घीय सांसद र प्रदेशसभा सदस्यको टोलीसँग अध्यक्ष ढकालले भने, “पर्यटकीय पूर्वाधार निर्माणका लागि वातावरणीय मूल्याङ्कन र जग्गा प्राप्ति निकै कठिन रहेको हुँदा यी विषयमा सरकारले सहजीकरण गर्नुपर्छ ।”
उनले यसै पटकको बजेटबाट सरकारले सहजीकरण गरे तत्काल लगानी गर्न सकिने पनि बताए । सातै प्रदेशमा केवलकार निर्माणको नेतृत्व गरेका अध्यक्ष ढकाललाई खप्तडमा पनि केवलकार निर्माण गर्न टोलीले आग्रह गरेको थियो ।
यही जेठ २३, २४ र २५ खप्तडमा आयोजना हुने प्रवद्र्धन कार्यक्रममा सहभागी हुन अध्यक्ष ढकाललगायत महासङ्घका सदस्यलाई टोलीले निमन्त्रणासमेत गरेको छ ।
भेटमा राष्ट्रियसभा सदस्य गरिमा शाहले खप्तडमा भारतीयलगायत आन्तरिक पर्यटकको पनि आकर्षण रहने हुँदा निजी क्षेत्रका लागि पनि अवसर रहेको बताए । खप्तड क्षेत्र पर्यटन विकास व्यवस्थापन समितिका शेरबहादुर खड्काले प्रस्तावित कार्यक्रमले प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
FACEBOOK COMMENTS