काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसँग अर्थतन्त्रमा अहिलेको सूचकहरूका बारेमा छलफल गरेका छन्।
शनिबार सिंहदरबारमा बसेको समिति बैठकमा अर्थतन्त्रको अवस्था र सूचकहरूका बारेमा अर्थमन्त्रीले छलफल गरेका हुन्।
छलफलमा अर्थमन्त्री महतलाई सांसदहरुले वर्तमान अर्थतन्त्रकाबारेमा विभिन्न जिज्ञासा राखेका थिए।
सांसदहरूको जवाफ दिँदै मन्त्री महतले भने, ‘स्वदेशमा अवसर छैन भने विदेशमा गएर आफ्नो उन्नति गर्ने ढोका बन्द गर्नु हुँदैन। तर हामी नेपालमै अवसरहरु सिर्जना गर्दै लैजाने हो। यो कुरालाई हामीले प्राथमिकतामा राख्नुपर्छ, यसमा दुई मत छैन। युवाहरुको क्षमता छ, देशभित्रै प्रयोग हुनुपर्छ भन्ने मान्यतालाई हामी प्राथमिकतामा राख्छौं।’
नेपालमै उत्पादन कसरी बढाउने भन्ने कुरालाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाई थियो।
‘नेपालमा अहिले जुन उद्योग व्यवसाय छ, त्यसमा धेरैजसो हाम्रो भ्यालु एडसिन कम छ। हामी चाहन्छौं, यो भ्यालु एडिसन ज्यादा भन्दा ज्यादा देशभित्र नै होस् भन्ने कुरा प्राथमिकतामा रहन्छ,’ अर्थमन्त्री महतले भने, ‘नेपाली उद्योग व्यवसायीलाई प्रमोट गर्ने जस्ता कुरालाई आउँदो बजेटमा प्राथमिकता दिन्छौं, बढीभन्दा बढी नेपाली उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने नीतिमा हामी जान्छौं।
अर्थमन्त्री महतले ज्ञान र अनुभवलाई उपयोग गर्दै अघि बढ्ने बताए।
‘सुधारको आवश्यकता छ, यसलाई इमान्दारिका साथ काम गर्छु। तर दुई महिनाभित्र मेरो ज्ञान र अनुभव उपयोग गरेर सारा समस्या सफाचट हुन्छ म भन्दिनँ,’ उनले भने, ‘अवश्य पनि नीति कार्यक्रममा क्रमशः सुधारहरू गरिनेछन्। धेरैजसो यसपाली गरिनेछ, कतिपय कुरा क्रमशः गरिँदै लगिने छ।’
अहिले कार्यान्वयनको चुनौति रहेको पनि उनले बताए।
FACEBOOK COMMENTS