काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले निजी क्षेत्रलाई छिट्टै बिजुली व्यापारका लागि अनुमति दिने सङ्केत गरेका छन् ।
उनले त्यसका लागि तयारी अवस्थामा रहन आग्रहसमेत गरे । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इपान०को २१औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा उनले बिजुली व्यापारमा क्रमशः निजी क्षेत्रलाई अनुमति दिइने बताए ।
मन्त्री बस्नेतले अब विद्युत् व्यापारका लागि पनि निजी क्षेत्र तयारी अवस्थामा बस्न आग्रह गरे । प्रधानमन्त्रीको भारत भ्रमण एउटा ‘ब्रेक थ्रु’ भएको भन्दै उनले हाल परिस्थिति धेरै परिवर्तन भइसकेको स्पष्ट पारे ।
भारतलाई बिजुली बिक्रीका लागि भए सहमतिलाई कार्यान्वयन गरिने उनको भनाइ छ । ऊर्जामन्त्री बस्नेतले त्यो सम्भव रहेको बताए । “सम्भव नभई त निर्णय हुन पनि सम्भव थिएन । निर्णय हुनु नै यो सम्भव हुनु हो । कार्यान्वयनमा जान्छ । ढुक्क हुनुस्”, उनले भने ।
हाल बुझाइ र परिस्थितिमा अन्तर रहेको भए पनि आगामी १० वर्षभित्र १० हजारमात्रै होइन १५ देखि २० हजार मेगावाट बराबरको बिजुली बिक्रीका लागि परिस्थिति बन्ने उनले जिकिर गरे ।
उत्पादन बढी भएपछि भारत, बङ्गलादेशलगायतका मुलुकसँग व्यापारको कुरा भए पनि पूर्वाधार निर्माणमा ठूलो लगानीको आवश्यकता रहेको मन्त्री बस्नेतको भनाइ छ । उनले लगानीको वातावरण बनाउन नीतिगत व्यवस्था सुधार गर्ने, सेवाप्रवाह चुस्त बनाउनेलगायतका कुरा ध्यानमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।
“उत्पादन गरेरमात्र पुग्दैन । पहिला लगानीको वातावरण बनाएर उत्पादन बढाउने र पूर्वाधार बनाएर त्यसलाई व्यापारसँग जोड्ने नीति सरकारले लिएको छ”, उनले भने ।
सरकारले स्पष्ट लक्ष्य निर्धारण गरेको जानकारी दिँदै उनले सो लक्ष्य पूरा गर्न एवं अप्ठ्यारा हटाएर अगाडि बढिने र समस्या समाधान गरिने बताए । उनले भने, “मुलुकको समृद्धिको निम्ति आधार भनेकै ऊर्जा हो, त्यसमा हामी स्पष्ट छौँ ।”
उत्पादनको दृष्टिबाट हेर्दा पूर्वाधार अभावजस्तो देखिए पनि निर्माणाधीन प्रसारणलाइन र सबस्टेशन बनिसक्दा फेरि उत्पादनमै फर्किनुपर्ने अवस्था आउने पनि मन्त्री बस्नेतको भनाइ छ ।
बिजुलीको खपत बढाउनका लागि शतप्रतिशत विद्युतीकरण, औद्योगिक खपत बढाउने, घरायसी प्रयोजनमा ग्यास विस्थापित गर्ने, सिँचाइ, यातायातलगायतका सबै क्षेत्रमा ऊर्जा खपत बढाउने अभियान पनि सुरु गर्न लागेको मन्त्री बस्नेतले जानकारी दिए ।
बजेट निर्माणलगायतका काममा व्यस्त हुँदा विद्युत् विधेयक पहिला संसद्मा लैजान नसकिएको जानकारी दिँदै उनले केही समयलगत्तै सो विधेयकले संसद्को कार्यक्षेत्रमा प्रवेश पाउने उनको भनाइ छ । उनले भने, “अब निजी क्षेत्रले व्यापार गर्ने बेला आएको छ । तपाईंहरू तयार हुनुस् । सरकार हातेमालो गरेरै अघि बढ्छ ।”
FACEBOOK COMMENTS