मेलम्चीमा मध्यकालीन सुधारको काम गरिने
कर्पोरट खबर
3:47 pm, शनिबार, असार १६, २०८०
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको दीर्घकालीन मर्मत सुरुको तयारी भइरहँदा त्यो सम्पन्न नहुँदासम्म पानी सञ्चालनका लागि मध्यकालीन सुधारको काम गरिने भएको छ ।
विसं २०७८ असार १ गतेको बाढीका कारण आयोजनामा ठूलो भौतिक क्षति भएको थियो । सो क्षतिपछि आयोजना पुनःसञ्चालन गर्न र पुनःनिर्माणका लागि तत्काल गर्ने, मध्यकालीन र दीर्घकालीन गरी तीन किसिमका योजना बनाइएको थियो । तत्कालको सुधार सकिएर आयोजनाले उपत्यकामा पानी ल्याइरहेको छ । दीर्घकालीन संरचना बन्दासम्मका लागि भइरहेका संरचनाको सुधार गरी सञ्चालनको काम मध्यकालीन योजनाअन्तर्गत रहेको आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताउ।
‘हेडवर्कक’को मध्यकालीन कार्ययोजना अनुसार काम गरिने उनले बताए । त्यसमा हेडवर्कलाई चलाउन आवश्यक काम गेटको मर्मतको काम, बाढी आएपछि च्यानलाइजेसन गरिने आयोजनाको योजना छ ।
आयोजनामा आगामी वर्ष मर्मत सञ्चालनको काम गरिने आयोजनाले जनाएको छ । हेडवर्ककको बायाँतर्फ रहेको पहिरोको रोकथामका लागि काम गरिने उनले बताए । सानासाना काम मात्रै गर्न सकिने उनले बताए । उनले भने , “नयाँ हेडवर्क तत्काल बनि सक्दैन, त्यही संरचनाको मर्मत गरेर पानी चलाउन लागिनेछ ।”
आयोजनालाई स्थायीरुपमा सम्पन्न गर्न दीर्घकालीन कार्ययोजनाअनुसार गर्नुपर्ने काम पनि आगामी आवमा अघि बढ्ने प्रवक्ता पन्तले बताए । डिजाइन स्वीकृत भएपछि खरिद प्रक्रियामा गएपछि नै काम सुरु गरिने उनले बताए । हेडवर्क कहाँ बनाउने भन्ने यही वर्ष तय गरिने आयोजनाले जनाएको छ ।
हेडवर्क बनिसक्न समय लाग्ने भएकाले निर्माण भइरहँदा पनि अहिले भइरहेको संरचना नै चलाउनुपर्ने प्रवक्ता पन्तले बताए । नयाँ ‘हेडवर्क’ निर्माणमा एशियाली किास बैंकले पनि चासो देखाएको उनले बताए । उनले भने, “यस वर्षमा निर्णय भएमा अर्को वर्ष निर्माण सुरु हुनसक्छ ।”
आयोजनाले सो बैंकसँगको ऋण सहयोगमा आयोजना निर्माण गरेको थियो । यस अघिको ऋण सकिएकाले नयाँ सम्झौता गरेर काम गर्नुपर्ने उनले बताए । नयाँ ‘हेडवर्क’ निर्माणका लागि विज्ञहरुले दुई÷तीन ठाउँ हेरिसकेको उनले बताए । कुन ठाउँ उपयुक्त हुन्छ भनी र कस्तो बनाउने भनी निर्णय हुन बाँकी रहेको उनले बताए । अन्तिम भएपछि प्रतिवेदन दिने र त्यही अनुसार रकमको व्यवस्था गरिनेछ । उनले भने , “त्यसपछि नयाँ ठेक्का प्रक्रियामा जान सकिनेछ ।”
दीर्घकालीन योजनाअनुसार नयाँ हेडवर्क सम्पन्न गरेर स्थायीरुपमा चल्न समय लाग्ने भएकाले मध्यकालीन योजनाअनुसार भइरहेका संरचना सुधारका काम गर्न लागिएको हो । यस वर्ष निर्माणको काम सुरु गर्नसके अर्को दुई वर्षभित्रमा सम्पन्न गर्न सकिने उनले बताए । उनले भने , “त्यतिबेलासम्म मध्यकालीन कार्ययोजनाअनुसार यही हेडवर्कबाट पानी चलाउनुपर्छ ।”
आगामी वर्ष आयोजनाका लागि सरकारले बजेट कम छुट्याएकाले धेरै काम नहुने उनले बताए । आगामी वर्षको बजेटमा आयोजनाको अस्थायी हेडवर्कको स्तरोन्नति गरी बाह्रै महिना खानेपानी आपूर्ति व्यवस्था मिलाइने उल्लेख छ । मेलम्ची जलाधारको भौगोलिक अध्ययन प्रतिवेदनको सुझावअनुसार आयोजनाको सञ्चालन गरिनेछ । आयोजनाको दोस्रो चरणअन्तर्गत याङ्ग्री र लार्के जोड्ने गरी संरचना निर्माण गर्ने बजेटमा उल्लेख छ ।
FACEBOOK COMMENTS