काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहका सरकारहरूले आफ्नो सोच र कार्यशैली बदलेर मात्र सङ्घीय लोकतान्त्रिक प्रणाली बलियो बनाउन सकिने बताएका छन् ।
कास्कीको पोखरामा आयोजित राष्ट्रिय समन्वय परिषद्को प्रथम बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्रीले सङ्घीयतालाई बलियो बनाउन सबैको उत्तिकै सार्थक प्रयास हुनु आवश्यक रहेको बताए ।
प्रधानमन्त्रीले भने, “सङ्घीयताको मर्म र यसको दीर्घकालीन महत्त्व हामीले बुझेनौँ भने यसको फाइदा सङ्घीयताका विरोधीहरूले लिनेछन् । हामीले जति छिटो र राम्रो कार्यसम्पादन गर्छौँ, जनताले त्यति नै मात्रामा सङ्घीयताबाट लाभ लिन सक्छन् । सङ्घीयता कार्यान्वयनका लागि ऐनहरू बनेका छन्, तर ती पूर्ण छैनन् । समन्वयको प्रभावकारिता पनि जरूरी छ । हाम्रो जोड त्यता हुन जरूरी छ ।”
लामो सङ्घर्ष र पहलपछि देश सङ्घीय गणतन्त्रमा आएको उल्लेख गर्दै प्रधानमन्त्रीले यो कुनै भावावेशमा गरिएको निर्णय नभएको तथा सुविचारित निष्कर्षका कारण नै हामी अहिले हामी सङ्घीय प्रणालीमा रहेको बताए । उनले यसको व्यवस्थापन र प्रभावकारी कार्यान्वयन पनि हाम्रै भएकाले यसमा चुक्न नहुने धारणा राखे ।
प्रधानमन्त्रीले भने, “कतिपय शक्तिहरू यस ९सङ्घीय गणतन्त्र०लाई ढलाउन सकिन्छ कि भनेर लागिरहेका छन् । पुरातनपन्थी र हावाहुरीबाट आएका शक्तिहरू पनि यसलाई कमजोर पार्न लागिरहेका छन् । त्यसैले लोकतान्त्रिक शक्तिहरूले नै यसको पहल र स्वामित्व लिनुपर्छ । नेपालको भूराजनीतिक संवेदनशीलताका कारण पनि व्यवस्था बलियो बनाउन हामीहरू नै लाग्नुपर्छ ।”
राष्ट्रको स्वाधीनता र समृद्धिको नेतृत्व अरूले गर्न नसक्ने भएकाले लोकतन्त्रभित्र देखिएका समस्या समाधानको हैसियत लोकतान्त्रिक शक्ति र दलले नै सक्ने र यो जिम्मेवारीलाई सत्तापक्ष, प्रतिपक्ष सबैले ठीक ढङ्गले लिन जरूरी रहेको बताए । प्रधानमन्त्रीले भने, “नीति, कार्यक्रम र बजेटको परम्परा अर्को वर्ष ब्रेक गर्छौँ । अहिले हामीले नीति, कार्यक्रम र बजेटमा जुन मोडल र प्रक्रिया अवलम्बन गरेका छौँ, त्यसले समाधान दिँदैन । त्यसैले हामी यसलाई बदल्छौँ । जनप्रतिनिधि र सरोकारवाला सबैको अन्तक्र्रियाबाट सबैको अपनत्व हुने गरी नीति, कार्यक्रम र बजेट बनाउँछौँ ।”
संघीयताविरोधी शक्तिलाई हामीले व्यवहारबाट जवाफ दिन जरूरी रहेको र त्यसका लागि हाम्रो सोच र कार्यशैली बदल्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ । उनले भने “हामी बदलिएपछि मात्रै लोकतान्त्रिक प्रणाली बलियो हुन्छ । सबै तहका सरकारहरू त्यसरी लागौँ । फिल्डका समस्या राम्रोसँग आएका छन्, यसले हामीलाई राम्रो फिडब्याक दिएको छ । यसमा टेकेर अघि बढौँ ।”
FACEBOOK COMMENTS