काठमाडौं । निर्वाचन आयोगले तीनै तहको निर्वाचनको मिति स्पष्ट उल्लेख गरी कानुन बनाउन प्रस्ताव गरेको छ । आयोगले निर्वाचनसम्बन्धी एकीकृत कानुनको मस्यौदा स्वीकृत गर्दा यस प्रकारको व्यवस्था गर्न सुझाव दिएको हो ।
प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहको निर्वाचन सो सभाको अघिल्लो निर्वाचनको परिणाम घोषणा भएको चार वर्ष ११ महिनापछिको पहिलो आइतबार गर्ने गरी कानुनमा व्यवस्था गर्न आयोगले प्रस्ताव गरेको छ । त्यसै गरी पदावधि समाप्त हुनुभन्दा तीन दिनअघि राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन हुने व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।
आयोग पदाधिकारीको सोमबारको बैठकले लामो समयदेखि छलफलमा रहेको एकीकृत कानुन मस्यौदा स्वीकृत गरेको हो। मन्त्रीपरिषद्ले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरणका लागि मस्यौदा तयार गर्न सैद्धान्तिक सहमति दिएको करिब डेढ वर्षपछि आयोगले उक्त मस्यौदालाई अन्तिम रूप दिएको हो ।
निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा गृह मन्त्रालयमार्फत संसद्मा पेस गर्ने आयोगले निर्णय गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मङ्गलबार नै उक्त मस्यौदा गृह मन्त्रालयमा पठाउने तयारी गरिएको जानकारी दिनुभयो।
आयोगले तयार गरेको मस्यौदा गृह मन्त्रालयले आर्थिक टिप्पणी तथा राय सुझावका लागि अर्थ मन्त्रालय पठाउने छ। उक्त सुझावसहितको मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइने छ। सो मन्त्रालयबाट सुझाव तथा परिमार्जनसहित फिर्ता आएको मस्यौदा गृह मन्त्रालयले संसद् सचिवालयमा दर्ता गराउने प्रयोजनका लागि मन्त्रीपरिषद्मा प्रस्ताव लानेछ।
आयोगले निर्वाचनसँग सम्बन्धित विद्यमान सात वटा ऐनका प्रावधान समेटी विज्ञका सुझावसमेतका आधारमा मस्यौदामा आवश्यक परिमार्जन गरेको छ। मस्यौदामा मतदाता नामावली ऐन २०७३, निर्वाचन कसुर तथा सजाय ऐन २०७३, प्रतिनिधि सभा सदस्य ऐन २०७४, प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ र राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ लाई परिमार्जन गरी विधेयकको मस्यौदा तयार गरेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS