काठमाडौं । ललितपुर महानगरपालिकाले घर नम्बर वितरण गरेको छ । भौगोलिक सूचना प्रणाली (जीआईएस) का अधिकृत उद्धव कार्कीका अनुसार ६० हजार ९ सय ८८ घरधुरीलाई घर नम्बर वितरण भएको हो ।
महानगरले एकल बसोबास, संयुक्त आवास, बहुतले आवास, व्यावसायिक भवन, कार्यालय तथा संस्था, मठमन्दिर लगायतलाई घर नम्बर दिएको हो ।
‘महानगरमा अब बन्ने नयाँ घर र भवनको मात्रै घर नम्बर दिन बाँकी छ, भएका सबैलाई दिएका छौं, यसमा कच्ची घर, टहरा, गोठ लगायत पर्दैन,’ कार्कीले भने ।
सडक सञ्जालमा आधारित मेट्रिक ठेगाना प्रणाली हेर्ने पूर्वाधार महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले सडक सञ्जालमा आधारित घर नम्बर वितरण सकिएको बताए ।
सडक सञ्जाल तथा मेट्रिक प्रणालीमा आधारित घर नम्बर वितरण गर्नका लागि महानगरको क्षेत्रफललाई ५ वटा क्षेत्रमा विभाजन गरेर काम गरिएको उनले बताए ।
महर्जनकाअनुसार महानगरभित्र मुख्य, साना र गल्ली गरेर ९ हजार ९२० वटा सडकहरु छन् । जसमध्ये १ हजार २८५ वटा मुख्य सडक छन् । २० वटा सडकहरुको नाम राख्न बाँकी नै रहेको छ ।
सडक सञ्जालको नामाकरण गर्दा स्थानीय प्रचलित नामलाई प्राथामिकता दिएको छ । विभूतिको नाम, सांस्कृतिक नामहरु र चलनचल्तीका नामलाई प्राथामिकता दिएको महानगरले जनाएको छ ।
सडक सञ्जालमा आधारित घर नम्बर लागू गर्दा सडकको मुख्य चोकबाट दायाँतर्फ जोर नम्बर र बायाँतर्फ बिजोर नम्बर प्रदान गरिएको महानगरले जनाएको छ । सडक सुरु विन्दुबाट नाप्न सुरु गरी घरको मूल गेटसम्मको दुरी जति हुन्छ, त्यसकै आधारमा नम्बर वितरण गरिएको महानगरले जनाएको छ ।
महानगर प्रमुख चिरिबाबु महर्जनले घर नम्बर वितरण गर्न महानगरले धेरै लगानी गरेको बताउँदै यो योजनाबाट महानगरवासी लाभान्वित हुने विश्वास व्यक्त गरे ।
घर नम्बर वितरणले राजस्व संकलनमा सहज हुने भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए ।
FACEBOOK COMMENTS