काठमाडौं । ललिता निवास प्रकरणमा जोडिएका थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आइतबार पूर्व नापी अधिकृत ध्रुब अर्याल र समर्जङ कम्पनीको प्रमुख लोकहरी घिमिरेलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।
यो सँगै बालुवाटार जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या ११ पुगेको छ ।
यसअघि गत मंगलबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ७ जना एकैपटक पक्राउ परेका थिए ।
गुरुङसहित धर्मप्रसाद गौतम, सुधीरकुमार शाह र गोपाल कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरू अहिले पनि हिरासतमै छन् ।
सीआईबीले पक्राउ गरेका अन्य तीन जनालाई भने त्यही दिन छाडेको थियो । उनीहरूलाई सर्वोच्चबाट पक्राउ नगर्न आदेश जारी भएको थियो ।
त्यस्तै, प्रकरणमा जोडिएका काठमाडौं महानगरका अधिवृकत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्कीलाई पक्राउ गरेको थियो ।
त्यसपछि समर्जङ कम्पनीका तत्कालिन प्रमुख रमेश कुमार पोखरेल र देवनारायण महर्जनलाई प्रहरीले गत सोमबार पक्राउ गरेको थियो ।
FACEBOOK COMMENTS