काठमाडौं । समाचार लेखेको विषयमा पत्रकारलाई ज्यान मार्ने धम्की दिएपछि आर्थिक मिडियाहरुले दुर्गा प्रसाईलाई कारबाही गर्न माग गरेका छन् । आर्थिक मिडिया सञ्चालहरुको संस्था इकानोमिक मिडिया सोसाइटी नेपाल (ईम्सन)ले उनीमाथि कारबाहीको माग गरेको हो ।
प्रसाईले ईम्सनका संस्थापक अध्यक्षसमेत रहेका बिकासन्युज डटकमका सञ्चालक एवं प्रधान सम्पादक रामकृष्ण पौडेललाई फोनमार्फत समाचार लेखेको विषयमा अपशब्द बोल्दै ज्यान मार्ने धम्की दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
समाचार लेखेकै आधारमा मिडिया सञ्चालक माथि ज्यान मार्ने धम्की दिईनु आपत्तिजनक भएको ईम्सनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘शक्तिकेन्द्रहरुका आडमा विवादित अभिव्यक्ति र गतिबिधी गर्दै आईरहेका प्रसाईले इम्सनका संस्थापक अध्यक्ष समेत रहेका पौडेललाई समाचार लेखेकै आधारमा फोन गरेर ज्यान मार्ने धम्की दिनु भत्सर्ना योग्य र आपक्ति जनक छ’, इम्सनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सञ्चार माध्यमहरुमा प्रकाशित तथा प्रसारित सामग्रीहरुमा चित्त नबुझे आफ्ना कुरा राख्ने र कानुनी उपचारमा जाने व्यवस्थाहरु छन् । तर प्रसाईले प्रेस स्वतन्त्रताको विश्वव्यापी मान्यता, नेपालका मौजुदा ऐन कानुनहरुको बर्खिलाप हुने गरि ज्यान मार्ने धम्की दिनु भनेको प्रेस स्वतन्त्रताका विरुद्धमा मात्रै नभएर फौजदारी कानुन समेत आकर्षित हुने बिषय बन्न पुगेको छ ।