‘बरामद होइन, सुन कति उम्कियो भन्ने मुख्य प्रश्न हो’
सय किलो सुन प्रकरणमा गृहमन्त्रीलाई बोलाएर समितिमा प्रखर छलफलको आवश्यकता
कर्पोरट खबर
8:26 pm, शुक्रबार, साउन १९, २०८०
काठमाडौं । संसदीय समितिले ललिता निवास, नक्कली भूटानी शरणार्थीदेखि सुनकाण्डसम्मका घटनाले सुशासनको विषयमा लज्जाबोध गराएको जनाउँदै त्यस्ता घटनाको गहिरो अनुसन्धान र निष्पक्ष छानबिनको माग गरेको छ ।
राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सदस्यहरुले संसद् नचलेको तथा कार्य क्षेत्र भित्र परेको विषयसँग सम्बन्धित एक सय किलो सुन प्रकरणसहितका घटनाबारे गृहमन्त्रीलाई बोलाएर समितिमा प्रखर छलफलको आवश्यकता औँल्याए ।
राज्यव्यवस्था र सुशासनसँग सम्वन्धित विषयमा अत्यन्तै प्रभावशाली र क्रियाशील हुनुपर्नेमा एकपछि अर्को काण्ड भइरहेको समयमा अझ बैठक घनिभूत हुन आवश्यक रहेको बताउँदै उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चामा रहेका तीनवटै घटनाको निष्पक्ष छानबिन र अनुसन्धानबारे गृहमन्त्रीसँग जानकारी लिनुपर्ने सुझाव दिए ।
समितिको कार्य क्षेत्र भित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा र गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान, निर्वाचन र लोक सेवा आयोगसहित पर्छ ।
समिति सदस्य रवी लामिछानेले अन्तर्राष्ट्रिय सञ्जाल, सङ्गठित अपराधसँग जोडिएका घटनाले भ्रष्टाचार नियन्त्रण, सुशासनलाई चूनौति दिएको बताउँदै गहिरो अनुसन्धान र निष्पक्ष छानबिनका लागि समितिको निर्देशन माग गरे ।
समितिका पूर्वसभापति एवं सदस्य हृदयराम थानीले मुलुकमा भएका पछिल्ला घटनाबारे गृहमन्त्रीबाट आवश्यक जानकारी लिनु स्वभाविक भएको बताए ।
समिति सदस्य लिलानाथ श्रेष्ठले मुलुकमा पछिल्लो समय भएका ठूला घटनामा सङ्लग्न मुख्य व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गर्न सरकारलाई कसले चुनौति खडा गर्यो भनी प्रश्न गरे ।
सांसद ईश्वरी न्यौपानेले विदेशमा पसिना बगाएर आउने श्रमिकले बोकेको चार आना देख्ने तर क्वीन्टलका क्वीन्टल सुन भन्सार पार हुँदा नदेख्ने घटनाले सुशासनको धज्जी उडाएको विचार राखिन ।
समिति सदस्य विश्वप्रकाश शर्माले एक सय किलो सुन बरामदको नभई कति उम्कियो भन्ने मुख्य प्रश्न भएको बताउँदै नक्कली शरणार्थीदेखि सक्कली सुनसम्मका घटनाको गहिरो अनुसन्धान र निष्पक्ष छानबिनका लागि समितिमार्फत सरकारको ध्यानाकर्षण गराए ।
सदस्य कृष्ण गोपाल श्रेष्ठले मुलुकमा पछिल्लो पटक सार्वजनिक भएका महत्त्वपूर्ण घटनालाई अनुसन्धान र छानबिनका हिसाबले टुङ्गोमा पुर्याउन आवश्यक रहेको धारणा राखे ।
सदस्य दिलेन्द्रप्रसाद वडूले एक सय किलो सुन काण्डले भन्सार र सुरक्षाको क्षमतामाथि प्रश्न खडा गरे पनि सरकारकै संयन्त्रले पक्राउ गरेको घटनालाई पनि अन्यथारुपमा हेर्न नहुने तर्क गरे ।
FACEBOOK COMMENTS