काठमाडौँ । उपत्यकालाई व्यवस्थित सहर बनाउने गरी उपत्यका राजधानी सहर (मेट्रो सिटी) निर्माण गर्ने योजना अगाडि बढ्न सकेन । साबिक स्थानीय तह पुनर्संरचना आयोगले आठ वर्षअघि उपत्यकामा भएका १८ वटै पालिकाको एकीकृत विकासका लागि उपत्यकामा मेट्रो सिटी निर्माण गर्न सरकारलाई प्रस्ताव गरेको थियो ।
उपत्यकाको एकीकृत विकास गर्न, आर्थिक रूपान्तरणसहित तीनै तहका सरकार र निकायबिच समन्वय तथा सहकार्य गर्न एवं साझा समस्यालाई सामूहिक रूपमा समाधान गर्न आयोगले उपत्यकालाई मेट्रो सिटी निर्माण गर्न सिफारिस गरेको थियो ।
उपत्यकालाई मेट्रो सिटी निर्माण प्रक्रिया अगाडि बढाउने जिम्मेवारी उपत्यकाका स्थानीय तहका नगरप्रमुखको भए पनि त्यसतर्फ स्थानीय तहका जनप्रतिनिधिले चासो देखाएका छैनन् । उपत्यकाको साझा समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले उपत्यका नगरपालिका फोरम निर्माण गरे पनि मेट्रो सिटी निर्माण गर्नेतर्फ फोरमले योजना ल्याएको छैन ।
उपत्यका नगरपालिका फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले फोरमको दीर्घकालीन योजना उपत्यकालाई मेट्रो सिटी निर्माण गर्ने नै भएको दाबी गरे । नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले उपत्यकाको प्राकृतिक, भौगोलिक, सांस्कृतिक वातावरण एउटै भएकाले उपत्यकाको दीर्घकालीन विकासका लागि मेट्रो सिटी निर्माणको विकल्प नभएको बताए ।
उनका अनुसार उपत्यकावासीलाई महानगरस्तरीय सेवा सुविधा प्रदान गर्न, पूर्वाधार व्यवस्थापन गर्न, वैदेशिक लगानी आकर्षण गर्न, स्रोतको उचित रूपमा व्यवस्थापन गर्न नेपालमा मेट्रो सिटी आवश्यक छ । त्यस्तै अनियन्त्रित बसोबास नियन्त्रण गर्न, अन्तर्राष्ट्रियस्तरको खेल मैदान, रङ्गशाला, विमानस्थल निर्माण गर्न उपत्यकालाई मेट्रो सिटीका रूपमा विकास गर्नुपर्ने देखिएको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS