काठमाडौँ । पूर्वसूचना छिटो प्राप्त हुँदा मुस्ताङको कागबेनीमा ठुलो जिउधनको क्षति हुनबाट जोगिएको छ। आइतबार राति करिब साढे ७ बजे मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीलाई माथिल्लो लेकको जोङगाउँबाट फोन आयो। फोनमा भनिएको थियो, “ठुलो पानी प(यो, यता ठुलो बाढी आएको छ, त्यता सतर्क रहनुहोला।”
प्रमुख जिल्ला अधिकारी केसीले पाएको सूचना तुरुन्तै तल्लो भेगका घरपझोङ गाउँपालिका र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्षलाई दिएर गाउँलेलाई सतर्क रहन भने । बारागुङ गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरुङले भने, “सिडियो साबले भनेलगत्तै सबै गाउँलेलाई सूचना दियौँ।”
त्यसपछि थालमा भात बोकेर खान बसेकाले घर छाडे, ओछ्यान पसेका उठे अनि बालबच्चा च्यापेर माथि डाँडामा उक्ले। त्यसको लगभग आधा घण्टा नबित्दै बाढीले कागबेनी हान्यो। त्यसपछि गाउँको टुप्पोमा रहेको पुल र भौतिक संरचना बगाउँदै बाढी गाउँ पसेको गुरुङले बताउनुभयो। छिटो गर्दा गाउँलेले घरमा भएका पैसा र गरगहना निकाल्न भ्याए। अरू सबै भौतिक तथा पशुधन बाढीले बगायो।
उत्तरतिरको लेकमा शनिबारदेखि वर्षा भइरहेको थियो। मुक्तिनाथ मन्दिरको देब्रे क्षेत्रमा रहेको लेकका जोङ र छेँगुर गाउँबिचबाट बग्ने खोलामा छेउछाउको पहिरो मिसिएपछि भेलले पहिरोको रूप लिएको स्थानीयले बताएका छन्। त्यो खोला तल आएर कागखोलासँग मिसिएपछि थप ठुलो बाढी बनेर गाउँ पसेको हो। प्रमुख जिल्ला अधिकारी केसीले भने, “पूर्वसूचनालाई बेवास्ता गरेको भए धेरैको ज्यान जान्थ्यो तर धन्न मैले बेलैमा सबैलाई भन्न भ्याएँ र सबैको ज्यान जोगियो।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS