ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार सामुदायिक ग्रामीण विद्युतीकरण अभियानलाई थप व्यवस्थित गर्न तयार रहेको बताएका छन् ।
दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडमार्फत विद्युतीकरणको १९औँ वर्ष पूरा भएको अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले जनतालाई विकास अभियानको साझेदार बनाउने पद्धतिलाई थप विस्तार गरिने विश्वास दिलाए ।
“सरकारले सामुदायिक ग्रामीण विद्युतीकरण अभियानलाई साथ दिन्छ, संविधानले सार्वजनिक–निजी साझेदारीका साथै नागरिकको सहभागितामा गरिने विकासको अवधारणालाई प्रवर्द्र्धन गरेको छ । विद्युत् सहकारीले गरिरहेको कामलाई हामी राज्यकै हिस्साका रूपमा बुझ्छौँ”, उनले भने “विकासमा जनताको सहभागिता र अपनत्व, प्रतिफलमा साझेदारी सुनिश्चित हुनुपर्छ । हामीले यसलाई अझ बढी महत्त्व दिनुपर्छ ।”
मन्त्री बस्नेतले सामुदायिक विद्युतीकरणको महत्त्वपूर्ण भाग सहकारी भएको र यसले गरेको काम कदरयोग्य रहेको भन्दै सामुदायिक विद्युतीकरणको प्रशंसा गरे । जनताले चाहँदा व्यवस्था बदलिएको र त्यसैगरी आर्थिक, सामाजिक रुपान्तरणको अवस्था बदलिन पनि सक्छ भन्ने धारणा उनको थियो । सरकार जनतालाई खुसी बनाउने अभियानमा लागेकाहरूलाई पन्छाएर भारी बोक्न चाहँदैन भन्दै मन्त्री बस्नेतले नीतिको दास हुने होइन, जनताको जीवनमा परिवर्तन ल्याउने र खुसी बनाउनेतिर लाग्नुपर्नेतिर इङ्गित गर्दै सोहीअनुसार नीति, सिद्धान्त तय हुनुपर्नेमा जोड दिएयो ।
सामुदायिक अभियानमा अप्ठ्यारो पार्ने अवस्था हुँदैन भन्दै उनले सरकार सहयोग गर्न तयार रहेको र विकासमा जनताको साझेदारी, आर्थिक, सामाजिक रुपान्तरणमा हिस्सेदारी मुख्य केन्द्र रहेकामा जोड दिए ।
बागमती प्रदेशसभा सदस्य मधुसुदन पौडेलले सामुदायिक विद्युतीकरणमा मन्त्री फेरिएपछि आइरहने समस्या समाधान हुनुपर्ने बताए । उनले नियमावलीमा समावेश गरेर नीतिगतरूपमै सहकारीमार्फत सञ्चालित सामुदायिक विद्युतीकरणलाई सहज हुने व्यवस्था राखिनुपर्नेमा जोड दिए ।
जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुँयालले प्रत्येक नागरिकलाई खुसी बनाएर सेवा प्रदान गर्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो । उहाँले सामुदायिक विद्युतीकरणमा जिल्ला विकासले गरेको जस्तै अहिले समन्वय समितिले पनि सहयोग, समन्वय र सहजीकरण गर्ने बताउनुभयो ।
नेपाली कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरेले तत्कालीन समयमा स्थानीय जनप्रतिनिधि हुँदा दक्षिण ललितपुर विद्युत् सहकारी संस्था गठनको बेला संस्थापक उपाध्यक्ष भएर काम गरेको स्मरण गर्नुभयो । उहाँले जनतालाई सेवा दिने उद्देश्यले सहकारी अभियान सुरु भएको बताए ।
FACEBOOK COMMENTS