बाग्मती । पेट्रोलिय पदार्थको मूल्य वृद्धि भएपछि बाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशका विभिन्न स्थानमा सञ्चालनमा रहेको सार्वजनिक सवारी साधनको भाडादरमा वृद्धि गरेको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै बाग्मती प्रदेशअन्र्तगत १३ जिल्लाको सार्वजनिक सवारी साधनको भाडादर समायोजन गरेको जनाएको छ । आजदेखि लागू हुनेगरी जारी गरिएको भाडादर वृद्धिमा काडमाडौँ उपत्यकाभित्र चल्ने यात्रुवाहक सवारीको भाडादर आठ दशमलव तीन प्रतिशतले वृद्धि भएको बताइएको छ ।
काठमाडौँ उपत्यकाबाहिरको हकमा अर्थात उपत्यका बाहेकको स्थानमा चल्ने सवारी साधनको भाडादर पाँच दशमलव ३१ प्रतिशतले वृद्धि भएको छ । जसअनुसार अब काठमाडौँ उपत्यकामा पाँच किमीसम्मको न्यूनतम भाडादर रु एकले बढेर १९ कायम गरिएको सो मन्त्रालयले जनाएको छ ।
त्यसैगरी उपत्यकामा १० किमीसम्मको लागि रु २६, १५ किमीसम्मको रु ३१, २० किमीसम्मको रु ३५ र २० किमीभन्दा माथिका लागि रु ४० भाडादर कायम गरिएको छ । मन्त्रालयको सूचनामा काठमाडौ उपत्यकाबाहिर प्रदेशका विभिन्न स्थानमा चल्ने यात्रुवाहक सवारी साधनको साविक भाडामा पाँच दशमलव ३१ प्रतिशतले वृद्धि गरिएको जनाइएको छ ।
यसैगरी पेट्रोलियम पर्दाथबाट चल्ने ट्याक्सीको भाडादर तीन दशमलव ४४ प्रतिशत र मालवाहक सवारी साधको भाडादर प्रतिकिमी प्रतिटन सात दशमलव ७७ प्रतिशतले वृद्धि भएको छ ।
पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारणले सवारी साधनको भाडादरमा पनि वृद्धि गर्नुपरेको सूचनामा जनाइएको छ ।
FACEBOOK COMMENTS