काठमाडौं । लोडसेडिङ कालमा विशेष सुविधाका रूपमा डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् आपूर्ति लिएका औद्योगिक र व्यापारिक ग्राहकलाई विद्युत महसुल बक्यौता तिर्न नेपाल विद्युत् प्राधिकरणले सक्रियता देखाएको छ ।
विभिन्न समयमा अदालतको आदेश मन्त्रीपरिषद्का निर्णय तथा निर्देशन प्राधिकरण सञ्चालक समितिका निर्णय भइसके पनि प्राधिकरणले सो रकम असुलउपर गर्न सकिरहेको छैन ।
प्रसारण लाइन तथा वितरण सञ्जाल विस्तारमा आफैँले समेत लगानी गर्नुपर्ने दबाममा रहेको प्राधिकरणले आइतबार सार्वजनिक सूचना जारी गर्दै महसुल बक्यौता १५ दिनभित्र नतिरे कानुनी व्यवस्थाबमोजिम लाइन काटिने चेतावनी दिएको छ ।
लोडसेडिङको समयमा प्राधिकरणको विद्युत् प्रणालीमा निरन्तर विद्युत् आपूर्ति हुने डेडिकेटेड फिडर र एक सबस्टेसनबाट अर्को सबस्टेसन जोड्ने ट्रङ्क लाइनबाट विद्युत् आपूर्ति लिएका तर प्रिमियमसहितको महसुल नतर्ने औद्योगिक, व्यापारिक, गैरव्यापारिक वर्गका ग्राहक सङ्ख्या ६७ रहेको प्राधिकरणले जनाएको छ ।
बक्यौता तथा जरिबाना गरी यस्तो रकम २०७२ साउनदेखि १५ अर्ब ४२ करोड ८० लाख रुपियाँ बक्यौता रहेको प्राधिकरणले जनाएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS