काठमाडौं । बीवाइडीको नयाँ विद्युतीय गाडी ‘डल्फिन’ नेपाल भित्रिएको छ । बीवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले सोमबार ‘डल्फिन’ गाडी सार्वजनिक गरेको छ ।
बीवाइडीका ब्रान्ड एम्बास्डर हरिवंश आचार्यले ‘डल्फिन’ गाडी सार्वजनिक गरेका हुन् । उनले भने, ‘मलाई बीवाइडी चडनु अगाडी त्यती गाडी चलाउन मनलाग्दैन थियो गाडि चढ्योकि थकाई मात्र लाग थियो । तर अहिले गाडी चढि रहु जस्तो लाग्छ । म पढ्दै नपढि पाईलट भएको अनुभव गरेको छु । डल्फिन समुद्रमा बस्ने भए पनि बीवाइडीले गाडीका रुपमा नेपालको सडकमा ल्याएको छ ।’
उनले विद्युतीय सवारीसाधनको प्रयोग बढेकामा प्रसन्नता व्यक्त गरे।
गाडी मंगलबार काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने नाडा अटो शोमा देख्न पाइने छ । गाडीको मूल्य ३९ लाख ८० हजार रुपैयाँ तोकिएको छ ।
ई–६ मोडलदेखि सुरु भएको बीवाइडीको यात्रा एटो ३ हुँदै ‘डल्फिन’सम्म आइपुगेको हो । गाडीमा ४४.९ किलोवाट आवर (युनिट) को ब्याट्री जडान गरिएको छ ।
यस्तै ७० किलोवाट क्षमताको मोटर छ । यसमा भएको ब्याट्रीले एक पटकको फुल चार्जमा ३४० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । यसमा १६ इन्चको अलोय ह्विल र १८५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स छ। यस्तै ह्विलबेस २ हजार ७ सय एमएम छ ।
यो गाडीमा १२.८ इन्चको फ्लोटिङ टच स्क्रिन कन्सोल, ३६० डिग्री क्यामेरा, इलेक्ट्रिकल्ली एड्जस्ट गर्न मिल्ने सिट, प्यानारोमिक सनरुफ, ५ इन्चको फुल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टरलगायत फिचर छन् । गाडी ४ वटा कलरमा उपलब्ध छ ।
एटो ३ जस्तै ‘डल्फिन’ पनि ग्राहकले रुचाउने विश्वास रहेको साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बताइन् । साइमेक्स इंकले नेपालमा ७ वर्षदेखि विद्युतीय गाडी बिक्री गर्दै आएको छ ।
नेपालमा हाल बीवाइडीका ७०० भन्दा धेरै गाडी प्रयोगमा छन् । प्रयोगकर्ता बढेकाले चार्जिङ नेटवर्क बढाउँदै लगेको साइमेक्स इंकले बताएको छ ।
FACEBOOK COMMENTS