काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आर्थिक सुधारका लागि उच्चस्तरिय आयोग वा संयन्त्र निर्माण गरि सहकार्य गर्ने अवधारणा आफूले अगाडि सारेको जानकारी गराएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिसँगको भेटमा यस्तो बताएका हुन् । उनले नेपालको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्र सहित सबै सरोकारवालाहरुको सामुहिक प्रयास आवश्यक भएको हुँदा आयोग आवश्यक रहेको बताए । यसमा सेजनसंगको सहकार्य महत्वपूर्ण हुने पनि उनको धारणा छ । अन्य नीतिगत सुधार, भ्रमण आदिमा पनि महासंघ र सेजनबीच सहकार्य रहने अध्यक्ष ढकालले बताए ।
कार्यक्रममा सेजन अध्यक्ष सुजन ओलीले आर्थिक मन्दीका समयमा विभिन्न वस्तुगत र जिल्लामा कार्यरत उद्यमी व्यवसायी समस्यामा रहेको हुदा सुधारका लागि सहकार्य गरिने बताए ।
महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले मुलुकभर नै उद्यमी व्यवसायी मन्दीका कारण प्रभावित भैरहेको हुदा सबै क्षेत्रको विशेष पहल आवश्यक रहेको बताए । महासंघ उपाध्यक्षद्धय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठले उद्यमी व्यवसायीको हितमा सेजनले गरिरहेको कामको प्रसंसा गरे ।
FACEBOOK COMMENTS