काठमाडौँ । राष्ट्रिय योजना आयोगले १६औँ योजना तय गर्नका लागि प्रदेशगत रूपमा छलफल गर्न सुरु गरेको छ । सातै प्रदेशमा जाने योजना अनुरूप योजना आयोगले छुट्टाछुट्टै टोली बनाएर छलफलका लागि पठाएको हो ।
आयोगले सोमबार मधेस प्रदेशसहितका ठाउँहरूमा छलफल गर्दै छ । मधेस प्रदेशको जनकपुरमा भइरहेको छलफलमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सहित स्थानीय तह र निजी क्षेत्रका प्रतिनिधिहरू समेत सहभागी छन् ।
आयोगका प्रवक्ता यमलाल भुसालका अनुसार १६औँ योजनाको मस्यौदाका बारेमा सबै प्रदेशमा आयोगका सदस्यको नेतृत्वमा टोली परिचालन गरिएको छ । कर्णाली प्रदेशमा भने प्राकृतिक विपत्तिका कारण तत्काललाई स्थगित गरिएको छ । बाँकी सबै प्रदेशमा आयोगको टोली खटाइएको छ ।
आयोगका प्रवक्ता सहसचिव भुसालका अनुसार कात्तिक २० गते आज र भोलि २१ गते बागमती प्रदेशको हेटौडा, मधेस प्रदेशको जनकपुर र सुदूरपश्चिम प्रदेशको धनगढीमा छलफल कार्यक्रम राखिएको छ । यसका लागि आयोगका सदस्यहरू डा. प्रभु बुढाथोकी, डा.जयकान्त राउत, डा. रामकुमार फुयाँल र डा. अनिता शाह ढुङ्गानाको नेतृत्वमा छुट्टाछुट्टै टोली परिचालन गरिएको छ ।
यस्तै कात्तिक २३ र २४ गते कोशी प्रदेशको विराटनगर र लुम्बिनी प्रदेशको बुटवलमा छलफल कार्यक्रम राखिएको प्रवक्ता भुसालले जानकारी दिए । उनका अनुसार यि दुई प्रदेशका लागि आयोग सदस्य डा. आरपी विच्छा र डा. रमेशचन्द्र पौडेलको नेतृत्वमा टोली परिचालन गरिएको छ । कर्णाली प्रदेशमा भने भूकम्पका कारण टोली रोकिएको उनले जानकारी दिए ।
प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रहरूको समेत सुझाव संकलन गरेर १६औँ पञ्चवर्षीय योजना तयार पार्ने आयोगले जनाएको छ ।
FACEBOOK COMMENTS