काठमाडौं । तिहार अर्थात् यमपञ्चकको तेस्रो दिन आज गाईको विधिपूर्वक पूजा आराधना गरी मीठामीठा खानेकुरा दिइएको छ ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । हाम्रो समाजमा गाई माताका रुपमा पूजिन्छ । गाईलाई लक्ष्मीमाताका रुपमा पनि सम्बोधन गरिन्छ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । यसैले गाईलाई राष्ट्रिय जनावरका रुपमा पनि संविधानमै उल्लेख गरिएको छ । यसैले गाईलाई सम्मान गर्ने प्राचीनकालदेखिको परम्परा छ ।
गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिन अर्थात् लक्ष्मीपूजाका दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताए । यही मान्यताका आधारमा आज गाई पूजा गरिएको हो ।
आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन (डोरो) गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा आज गाईको पुच्छरमा डोरो बाँधियो ।
असहाय गाई बाच्छा संरक्षणस्थलमा सामूहिक गौ पूजा
कागेश्वरी मनोहरा नगरपालिका वडा नं। ८ गोठाटारस्थित असहाय गाई बाच्छा संरक्षणस्थलमा गाई तिहारका अवसरमा सामूहिक गौ पूजा गरिएको छ । संरक्षणस्थलमा करिब दुई सय छाडा छोडिएका गाई बाच्छा संरक्षण गरिएको हो । संरक्षणस्थलमा आज आयोजित कार्यक्रममा गाई पूजासहित देउसी भैलो पनि गरिएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिए ।
पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको करिब एक सय रोपनी जग्गामा अभियानकर्मी पुडासैनीको नेतृत्वमा असहाय गाई बाच्छाको संरक्षण भइरहेको छ । गाईलाई दुध दिउञ्जेल घरमा राख्ने र दुध दिन छोडेपछि मन्दिर परिसर, नदी किनार, सार्वजनिकस्थल एवम् सडकमा छोड्ने क्रम बढ्न थालेपछि अभियानकर्मी छाडा गाई बाच्छाको संरक्षणमा जुटेका हुन् । बाच्छीलाई घरमै राख्ने र बाच्छालाई सानैमा छाडा छोड्ने गरिएको छ । यस्तो प्रवृत्तिका विरुद्ध अभियानकर्मीले चेतना पनि जगाउँदै आएका छन् ।
FACEBOOK COMMENTS