काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जलवायु परिवर्तनले पारेको असरका बारेमा नेपालले औपचारिक रूपमा विश्वसामु आफ्नो आवाज बुलन्द गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।
पार्टीको परराष्ट्र मामिला विभाग र वन तथा वातावरण विभागद्वारा जलवायु परिवर्तन न्याय कोप–२८ मा नेपालले लिनुपर्ने अडान विषयक संयुक्त रूपमा आयोजित विज्ञहरूसँगको छलफल कार्यक्रममा उनले जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रमा पर्यावणीय सङ्कट निम्तिन सक्ने बताउँदै नेपालले सङ्कट टार्न विश्व समुदायको ध्यान आकर्षण गर्न ढिला गर्न नहुने बताएका हुन् ।
‘हिमाललाई तीब्र असर पुर्याउने काम विकसित देशले गरिरहेका छन् । त्यस बापत विकसित देशले केही रकम दिएर मात्र पुग्दैन । विकसित देशले हिमाललाई कसरी बचाउने भन्नेतर्फ ध्यान दिने बेला आएको छ,’ अध्यक्ष ओलीले भने ।
कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य तथा परराष्ट मामिला विभाग प्रमुख डा. राजन भट्टाराईले जलवायु परिवर्तनका असरको विषय कुटनीतिक हिसाबमा प्रभावकारी लविङ गर्ने बेला आएको बताउँदै देशले संयुक्त रूपमा समस्या समाधान गर्ने आवाज उठाउनुपर्ने बेला आएकोमा जोड दिए ।
FACEBOOK COMMENTS