काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारको सार्वजनिक बिदामा पनि भन्सार कार्यालयमा रहेका बैंकका शाखाहरू खुला राख्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई सूचना जारी गर्दै कात्तिक २२ गतेदेखि २६ गतेसम्म सार्वजनिक बिदाका दिनमा समेत भन्सार कार्यालयस्थित शाखाबाट बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन दिएको हो।
अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभागको अनुरोधपछि राष्ट्र बैंकले यस्तो व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई पत्राचार गरेको जनाएको छ। तिहारको बिदाका कारण भन्सारसम्बन्धी वित्तीय कारोबार प्रभावित हुन नदिन र व्यापार सहजीकरण गर्न यस्तो निर्णय गरिएको हो।
यस व्यवस्थाले सार्वजनिक बिदाको अवधिमा पनि भन्सार कार्यालयसँग सम्बन्धित बैंकिङ कारोबारलाई निरन्तरता दिन, वस्तुको आयात–निर्यातमा सहजीकरण गर्न तथा आपूर्ति प्रणालीलाई सुचारु राख्न सहयोग पुग्ने राष्ट्र बैंकको भनाइ छ।