काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा आजदेखि ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला–२०२३’ सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आयोजना गरेको उक्त मेलाको उद्घाटन सभामुख देवराज घिमिरेले गरेका हुन् ।
नवौं संस्करणको यो मेला मंसिर १८ गतेसम्म सञ्चालन हुनेछ । मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश लगायतका देशहरूको सहभागिता रहेको छ । महासंघले मेला अवधिभर एक लाखले अवलोकन गर्ने अपेक्षा गरेको छ । मेलामा नेपाली युवा उद्यमी मञ्चद्वारा मेड इन नेपाल र जुत्ता उत्पादक संघको तर्फबाट ४० वटा स्टल सहितको पेभेलियन पनि रहेको महासंघले बताएको छ ।
महासंघका अनुसार मेलामा चीनबाट ५५, भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट ८/८ स्टलहरू छन् । २१० वटा स्टलहरू मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ ।
मेलामा १० देखि १२ करोड रुपैयाँसम्मको कारोबार हुने बताइएको छ । आइएमइ पे फोनमा डाउनलोड गर्नेहरूका लागि प्रवेश निःशुल्क छ भने नगरी प्रवेश गर्नेहरूलाई ५० रुपैयाँ प्रवेश शुल्क राखिएको छ ।
सभामुख देवराज घिमिरे , उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेशलाल श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरु र नेपालका लागि चिनियाँ राजदूत छन् सोङले मेलाको स्थलगत अवलोकन समेत गरेका छन् ।
हेर्नुहोस् तस्वीरहरू–
FACEBOOK COMMENTS