काठमाडौं । बैंक वित्तीय संस्थाका तीनवटा संगठनले दुर्गा प्रसाईंका समूहले गरेको गतिविधिका कारण काम गर्न समस्या भएको बताएका छन् ।
नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले विज्ञप्ति जारी गर्दै प्रसाईको गतिविधि समयमै नियन्त्रण गर्न माग गरेका छन् ।केही व्यक्ति र समूहले वित्तीय संस्था र कमर्चारीहरुप्रति धम्कीपूर्ण अभिव्यक्ति, अराजक व्यवहार र आक्रमण गरिरहेको भन्दै अराजक घट्नालाई समयमै नियन्त्रण गर्न माग गरेका छन् ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको झापाको बिर्तामोड शाखाका सहायक म्यानेजर दिनेश पनेरुलाई प्रहरीकहाँ पुर्याएको घटना सार्वजनिक भएको भन्दै बैंक वित्तीय संस्थाका तीनवटै संगठनले दोषीमाथि कारबाहीको माग गरेका छन् ।
‘एक वाणिज्य बैंकको विर्तामोड, झापा शाखामा कार्यरत एक कर्मचारी माथि भएको धरपकड प्रति हाम्रो आपत्ति रहेको र घट्नामा संलग्न दोषीहरुलाई कारवाहीको माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।
‘वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु भयरहित रुपमा काम गर्ने वातावरणको सुनिश्चितताका साथै सम्पूर्ण कर्मचारीहको सुरक्षाको प्रत्याभूती गराउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन जिम्मेवार निकायहरुसँग माग गर्दछौं,’ विज्ञप्तिमा भनिनएको छ, ‘बैंकिङ्ग जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भईरहेको आक्रमणले समस्त बैंकिङ्ग क्षेत्र नै चिन्तित र आतंकित बनेको हुँदा यस्ता गैरजिम्मेवार क्रियाकलापको आडमा जबरजस्ती कानून आफ्नो हातमा लिई भइरहेका अराजक घट्नालाई समयमै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायहरुसँग अनुरोध गर्दछौं ।’
FACEBOOK COMMENTS