काठमाडौं । नेपाल सरकारले हचुवाका भरमा नेपालमा सर्ट भिडिओ एप ‘टिकटक’ बन्द गरेपछि सो निर्णयको पक्ष र विपक्ष अर्थात् राम्रो र नराम्रो पक्षलाई लिएर तर्कबितर्क अझै चलिरहेको छ ।
सामाजिक सद्भाव बिगारेको भन्दै कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकबाट सरकारले टिकटक बन्द गरेको हो । आफ्नो निर्णय तत्काल कार्यान्वयनमा समेत लगेको सरकारको आलोचना भने अहिलेसम्म पनि भइरहेकै छ ।
यसैबीच, नेपालमा टिकटक प्रतिबन्धबारे अन्तर्राष्ट्रिय चासो समेत बढ्न थालेको छ । सामाजिक सञ्जाल प्लाटफर्महरूको प्रतिनिधिमुलक संस्था एसिया इन्टरनेट कोअलिसन (एआईसी)ले त पत्राचार नै गरेर टिकटक बन्दबारे चासो व्यक्त गरेको हो ।
एआईसीले गत मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेख्दै टिकटक बन्द र सामाजिक सञ्जाल व्यवस्थित गर्न बनेको निर्देशिका ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बारे गम्भीर चासो व्यक्त गरेको हो । पत्रमा नेपालमा सामाजिक सञ्जाल निर्देशिका कार्यान्वयन हुँदा र टिकटकको प्रतिबन्ध खुला नगर्ने हो भने प्रत्यक्ष विदेशी लगानी प्रभावित बन्ने भन्दै एआईसीले सरकारलाई सचेत गराएको छ ।
सञ्चार मन्त्रालय र मन्त्री रेखा शर्मालाई सम्बोधन गरी लेखिएको सो पत्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालसमेतलाई बोधार्थ गरिएको छ ।
एआईसीमा एमाजन, गुगल, एप्पल, गोटो, बुकिङ डटकम, ग्राब, मेटा, लिङ्क्डइन, राकुटेन, स्पटिफा, सोफी, ट्वीटर (एक्स) र स्न्याप इङ्कलगायत सामाजिक सञ्जालहरू आबद्ध छन् ।
हेर्नुहोस् एआईसीले नेपाललाई लेखेको पत्र–
FACEBOOK COMMENTS