काठमाडौं । २०८६ सालमा स्वतः रूपमा नेपाल सरकारको मातहतमा आउने २ खर्बको सम्पत्ति रहेको एनसेल आजियटाको ८० प्रतिशत सेयर ६ अर्बमा बेचिएपछि दबाबमा परेको सरकारले गठन गरेको समितिले छानबिन थालेको छ ।
एनसेलको सेयर खरिदबिक्री सम्बन्धमा पूर्वमहालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित समितिले छानबिन थालेको हो । सरकारले एनसेलको सेयर खरिदबिक्री सम्बन्धमा छानबिन गर्न बनाएको ‘एनसेलको सेयर खरिदबिक्री अध्ययन तथा छानबिन समिति’ले ३० दिनभित्रमा प्रतिवेदन बुझाउने संयोजक दंगालले बताए ।
मन्त्रिपरिषद्को गत बिहीबारको बैठकले एनसेलको सेयर खरिदबिक्री छानबिन गर्न समिति बनाई ३० दिनको म्याद दिएको थियो । सरकारले दिएको कार्यादेशभित्र रही तोकिएको समयसीमामा सुझावसहितको प्रतिवेदन बुझाउने समितिले जनाएको छ ।
कार्य थालनी गर्दै संयोजक दंगालले भने, ‘एनसेलको सेयर खरिदबिक्री सम्बन्धमा केही सूचना तथा जानकारी भए उपलब्ध गराइदिन सरोकारवालालाई आग्रह गर्दै सूचना निकालेका छौं ।’ समितिले छानबिनका क्रममा सरकारी अधिकारी सेवाप्रदायक कम्पनी, विज्ञलगायतको राय सुझाव लिने आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS