काठमाडौं । पूर्वसुरक्षाकर्मी परिषद् नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग गरेको छ । ।
मन्त्री किरातीले बुधबार दिएको धर्मसम्बन्धी अभिव्यक्ति सामान्य नभएको र दण्डको भागीदार बन्नुपर्ने भन्दै परिषद्ले तत्काल राजीनामा माग गरेको हो ।
मन्त्री किरातीले गत बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा ‘क्रिश्चियनलाई मान्दिनँ भन्नु चाहिँ संविधान मान्दिन भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन्, यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाउने र जेलमा हाल्दिने हो । सर्पले भ्यागुता खाएजसरी विस्तारै निल्नुपर्छ’ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्ति नेपालको संविधाविपरीत भएको भन्दै परिषद्ले उनको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।
आज शुक्रबार विज्ञप्ति जारी गर्दै परिषद्ले भनेको छ, ‘नेपालको संविधान २०७२ को भाग ३ को धारा २६ को उपधारा १ मा ‘धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्वन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ’ भन्ने उल्लेख छ भने सोही धाराको उपधारा ३ मा ‘आफ्नो हकको प्रयोग गर्दा कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भङ्ग हुने क्रियाकलाप गर्न गराउन वा कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन र त्यस्तो कार्य कानुनबमोजिम दण्डनीय हुनेछ’ भन्ने उल्लेख छ । मन्त्री किराँतीको भनाइबाट देशका ९८.२४ प्रतिशत नेपालीको धर्ममा खलल पार्ने काम भएको हुँदा नेपालको संविधानबमोजिम दण्डको भागिदार हुने निश्चित छ । देशको धर्म, संस्कृतिको रक्षा गर्ने जिम्मेवारी पाएको संस्कृतिमन्त्रीबाटै यस्तो गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति आउनुलाई सामान्य गल्ती मान्न सकिँदैन ।’
विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘पछिल्लो समय नेपालमा पश्चिमा साम्राज्यवादी शक्तिहरुले विखण्डनको उद्देश्य प्राप्त गर्न इसाई धर्मलाई हतियार बनाएको कुरा कसैबाट छिपेको छैन । मन्त्री किराँतीको भनाइबाट त्यस्ता शक्तिहरुलाई थप मलजल पुगेकोे प्रष्ट हुन्छ । सामाजिक, सांस्कृतिक तथा धार्मिक सहिष्णुता माथि धावा बोल्ने व्यक्ति कुनै पनि कोणबाट मन्त्री पदमा रहिरहन उपयुक्त हुँदैन । तसर्थ देशको संविधानविरुद्ध अभिव्यक्ति दिने मन्त्री किराँतीलाई तत्कालै मन्त्री पदबाट बर्खास्त गरी कानुनी कठ्घरामा उभ्याउन सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष पूर्वसुरक्षाकर्मी परिषद् नेपाल जोडदार माग गर्दछ ।’
साथै, नेपाल र नेपालीहरुको सोझोपनको गलत फाइदा उठाउँदै, परापूर्वकालदेखि मान्दै आएको धर्म, संस्कार, संस्कृति र परम्पराविरुद्ध विषवमन गरी विश्वमा शान्तिको विजारोपण गर्ने बुद्धभूमि नेपाललाई धार्मिक एवम् साम्प्रदायिक विखण्डन र द्वन्द्वमा फसाउने षडयन्त्र भइरहेकोतर्फ गम्भीर भई राष्ट्र, राष्ट्रियता र देशको अखण्डताको सुरक्षा तर्फ ध्यान दिन समेत नेपाल सरकार, सम्बद्ध सबै सरोकारवाला संघ–संस्था र विद्वतवर्ग समक्ष परिषद्ले अनुरोध समेत गरेको छ ।
पूर्वसुरक्षाकर्मी परिषद् नेपाल अवकाशप्राप्त पूर्वसुरक्षाकर्मीहरु नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, भारतीय तथा ब्रिटिश सेना र सिंगापुर प्रहरी तथा तिनका आश्रित परिवारहरुको हकहितको सम्वर्धन तथा प्रवर्द्धनका साथै नेपालको राष्ट्रियता, स्वतन्त्रता तथा स्वाधीनता रक्षार्थ स्थापित पूर्वसुरक्षाकर्मी परिषद् नेपाल, विशुद्ध गैरराजनैतिक संस्था हो ।
संस्कृतिमन्त्री सुदन किरातीलाई भीम रावलको प्रश्न– किरातहरूले ‘मुन्धुम’ मान्नु देशद्रोह हो ?
संस्कृतिमन्त्रीको अभिव्यक्तिमाथि रवि लामिछानेको टिप्पणी : उहाँलाई पदमा बसिरहने अधिकार छैन
FACEBOOK COMMENTS